परिवर्तनका रेखाहरू
सम्झना खड्का
नेपाली विभाग
महिला समाजको अभिन्न, आधारभूत र महत्त्वपूर्ण अवयव हुन्। महिलाले सन्तानलाई जन्म दिने, लालन - पालन गर्ने, संस्कार सिकाउने , भावनात्मक सन्तुलन कायम गर्ने र समाजलाई सही दिशा देखाउने कार्य गर्दै आएकी छिन् । महिला केवल घरको काम गर्ने पात्र मात्र होइन । उनी घर , समाज, राष्ट्र, र सम्पूर्ण मानव सभ्यताको निर्माण शक्ति हुन् ।
महिलामा करुणा, सहानुभूति, ममता, त्याग, प्रेम, धैर्यजस्ता गुणनिहित हुन्छन्। उनी शिक्षक, अभियन्ता, नीति निर्माता, साहित्यकार, वैज्ञानिक, कलाकार, उद्यमी सबै बन्न सक्छिन् र बन्दै आएकी छिन्। आज महिला भनेको अब कमजोर र आश्रितको परिचय होइन, महिला भनेको सक्षम, आत्मनिर्भर र समान अधिकारको हकदार व्यक्तित्व हो। आधुनिक समाजलाई पूर्ण उन्नत र सभ्य बनाउने मूल आधार नै महिला चेतना, क्षमता र पहिचानबाट निर्धारण हुन्छ । महिलाको सम्मान, हक, अवसर, सुरक्षा र सशक्तिकरण सुनिश्चित नगरी कुनै पनि समाज प्रगतिशील हुन सक्दैन ।
आजका महिला अघिल्लो समयको तुलनामा धेरै सचेत, धेरै आत्मविश्वासी र धेरै सक्षम भइसकेका छन्। समाजले बनाएका पुराना अवरोध, सीमाना र छाया मात्र पछाडि धकेल्दै होइन, उनीहरू ती अवरोध तोडेर आफ्नै पहिचान बनाउँदैछन् । आजको समयका महिला केवल घरभित्रको सीमित परिचयमा बन्द छैनन् । कहिल्यै बोल्न नपाइ दबिएका आवाज बोल्न थालेका छन् । अत्याचार, हिंसा, भेदभाव, हतोत्साह - यी सबै चुपचाप सहने महिला अब चुप छैनन् । उनी आजको चुनौती स्वीकार गर्छिन, न्याय माग्छिन्, गलतको प्रतिकार गर्छिन् । शिक्षा , प्रविधि, रोजगार, उद्यम, राजनीति, खेलकुद, सुरक्षा, अनुसन्धान, विज्ञान जहाँ जहाँ महिला पुग्न निषेध थियो त्यसै ठाउँमा अहिले महिलाको नेतृत्व छ । अहिलेकी महिला देशको प्रधानमन्त्री बन्ने साहस राख्छिन् , देश हाँक्ने साहस राख्छिन् ।
अहिले महिलाले देखाएको साहसले छोरीको भविष्यको बाटो सज्जिएको छ । उनको हिँडाइले समाजले कर्तव्य सम्झेको सीमा भत्किएको छ । अब महिला आफ्नो भाग्य अरू कसैको कलमले लेखिदिने प्रतीक्षा गर्दिनन् । उनी आफ्नो भाग्य कर्मरूपी र साहसरूपी कलमले आफैँ लेख्छिन् । अहिलेकी महिलाको साहस नै परिवर्तनको मुख्य शक्ति हो , समाजको नयाँ दिशा निर्धारण गर्ने आधारशक्ति हो। अहिले महिला डरको संस्कार भत्काएर सम्भावनाको संस्कार निर्माण गर्दैछिन् तर समाजमा अझै पनि अनेकौँ बाधा, हिंसा, असमानता, दुर्व्यवहार, भेदभावजस्ता समस्या विद्यमान छन् । यिनै समस्याको सामना गर्दै अघि बढ्ने महिला नै साहसी मानिन्छिन् । उनी आफैँ बोल्ने हिम्मत गर्छिन्, अन्याय विरुद्ध उभिन्छिन् । शिक्षा सीप र आत्मविश्वास प्राप्त गर्छिन। आफ्नो पहिचान आफैँले निर्माण गरी सुनिश्चित भविष्य निर्माण गर्छिन । यही हो अहिलेकी महिलाको वास्तविक साहस अनि महिलाको वास्तविक परिचय ।
अतः महिलाको साहस केवल महिलाकै विषय होइन, समाजको सामूहिक शक्ति हो। महिला सक्षम भए मात्र समाज सक्षम हुन्छ; राष्ट्र बलियो हुन्छ। त्यसैले प्रत्येक महिलाप्रति सम्मान, समर्थन, अवसर र समान अधिकार सुनिश्चित गर्नु आजको आवश्यकता हो। महिलाको साहसलाई सम्मान गर्ने संस्कृतिको विकास हुँदा मात्र साँचो समृद्धि सम्भव हुन्छ।
0 Comments