काभ्रे जिल्लामा प्रचलित सिलोकको विधातात्विक अध्ययन (पवित्रा दाहाल)

 काभ्रे जिल्लामा प्रचलित सिलोकको विधातात्विक अध्ययन













पवित्रा दाहाल

१. विषय परिचय

  लोक साहित्यका पद्य लयात्मक विधाहरू मध्य कविता विधा पनि एक हो । लोक कवितामा लय वा भाका हुँदाहुँदै पनि गीतितत्वभन्दा भाषातत्वको प्रधानता रहन्छ। लोककाव्य र लोकगाथामा जस्तो आख्यान कविता विधामा हुँदैन त्यसैले यो स्वतन्त्र विधा हो । लोक कविताभित्र खाँडो,कर्खा, सवाई, कूटपद्य ,सवाई,दोहा जस्ता विभिन्न उपविधाहरू रहेका छन्; जसमध्ये सिलोक पनि एक हो । नेपाली लोक समाजमा पुस्तानान्तरण हुँदै आएको यस विधाको सिर्जना कहिलेदेखि र कसले गर्‍यो भन्ने कुनै पनि प्रमाण छैन तैपनि नेपाली लोक समाजले सिलोक हाल्ने परम्परालाई भने जीवितै राखेको छ ।

 विशेष गरी  विवाह, व्रतबन्ध, पूजा आदि समयमा सामूहिक रूपमा सिलोक हालिन्छ । नेपाली मौलिक लोकलयमा आधारित सिलोक संस्कृत छन्दका लयबाट प्रभावित जस्तो देखिए पनि सिलोकको  आफ्नै मौलिकता रहेको छ ।

 नेपालका विभिन्न भेगमा सिलोक हाल्ने प्रचलन छ । काभ्रे जिल्लामा पनि सिलोक हाल्ने प्रचलन भएको हुँदा यस लेखमा काभ्रे जिल्लामा प्रचलित सिलोकको  विधातात्विक अध्ययनको चर्चा गरिएको छ ।  


२.  सैद्धान्तिक परिचय 

लोक समुदायमा विभिन्न लोक साहित्य रहेका छन् ; जसमध्ये सिलोक पनि एक लोक साहित्यको काव्य विधा हो । खाँडो ,कवित, दोहा, सवाई, कुटपद्य जस्ता विधा र सिलोक  लोक कविताभित्र  पर्दछन् ।  लोकसमुदायद्वारा शास्त्रीय छन्दको अनुसरण गर्दै छन्द भङ्ग भएपनि पद्य कविताकै ढाँचामा रचना गरिएका कवितालाई सिलोक भनिन्छ ।  नेपालका अधिकांश पहाडी भेगमा सिलोक हाल्ने चलन छ ।  विवाह , चाडपर्व, मेला ,जमघट आदि अवसरमा सिलोक हालिने भएकाले सिलोकका विषयवस्तु पनि जुन अवसरमा सिलोक हालिने हो सोहीअनुसार कै हुन्छन् , जस्तै; विवाहको अवसरमा भनिने सिलोकमा   बेहुला र बेहुलीका दुई पक्षको चिनापर्चीका  साथै योग्यता जाँच्ने किसिमका विषयवस्तु हुन्छन् । पूजाआजाका अवसरमा भनिने सिलोकमा  विभिन्न धार्मिक ग्रन्थसँग सम्बन्धित  विषयवस्तु हुन्छन्  भने  भेला तथा जमघट हुँदा जनजीवनका  दुःखसुख समेटिएका  विषयवस्तु हुन्छन्  । 

  सिलोकको प्रयोग मध्य र पूर्वी पहाडी क्षेत्रमा बाहुन ,क्षेत्री समुदायले गर्दछन् । विवाह, चाडपर्व वनपाखा, बसिबियाँलो आदि हरेक अवसमा सिलोकको प्रयोग गरिन्छ । सिलोकमा व्यक्तिपरिचय, गाउँघर, वस्तुभाउ र लोकका विभिन्न विषय र क्रियाकलापको वर्णन हुन्छ ।  (लामिछाने ,२०७७ पृ.२४१)

 विशेष गरी सिलोक दुई पक्षबिचमा प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिन्छ । सिलोकेहरू आफ्नो ज्ञानको क्षमता देखाउन र अर्को पक्षलाई कमजोर देखाउन विभिन्न अड्को हाल्ने गर्दछन् । सिलोकेले आफ्नो व्यक्तित्व प्रभावशाली छ भन्ने देखाउन विभिन्न शास्त्रका विषयवस्तु ल्याएर प्रश्न गर्ने चलन छ । त्यस्तै बिहेमा बेहुला पक्ष र बेहुली पक्षको व्यक्तित्व तथा क्षमता पनि सिलाकबाट नै जाँचिन्छ ।  

  नेपाली सिलोकहरूले  शार्दूलविक्रीडित , स्रग्धरा, वसन्ततिलकाजस्ता प्रसिद्घ छन्दहरूको अनुकरण गरिएको पाइन्छ । सिलोकले छन्दको अनुकरण लयमा गरेको हुन्छ तर  सिलोकमा छन्द भङ्ग भएको हुन्छ । छन्दभङ्ग हुनु र लयात्मक हुनु सिलोकको विशेषता हो । सिलोक भन्ने व्यक्तिलाई सिलोके भनिन्छ । कतै कतै सिलोकेलाई कविते पनि भनिन्छ । 

। 

 सिलोकमा तत्भव, तत्सम र आगन्तुक शब्दहरूको प्रयोग गरिन्छ । हँस्यौली , ठट्यौली पारामा सिलोक भनिने हुनाले पनि सिलोकमा अनौपचारिक भाषाको प्रयोग हुन्छ । छन्द कवितामा चार पाउको एक श्लोक भए जस्तै सिलोकमा दुई हरफलाई एक फाकी भनिन्छ ।

 काभ्रे जिल्लाका सिलोकमा सिलोकको सुरुवात मंगलाचरणबाट शुरु भएको पाइन्छ । अन्य विधाझैँ सिलोकका पनि विभिन्न तत्त्वहरू छन् । विषयवस्तु, भाव, लयविधान, कथन पद्धति , बिम्ब, व्यञ्जना र भाषाशैली सिलोक विधाका तत्त्वहरू हुन् । यो लेखमा यिनै तत्त्वका आधारमा सिलोकको विश्लेषण गरिएको छ ।

                         

३. सिलोकको विधातात्विक विश्लेषण

 विभिन्न तत्त्वहरू मिलेर सिलोक बनेको हुन्छ । सिलोकको मौलिक विशेषता हुनुमा यिनै तत्त्वहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।  सिलोकका  तत्त्वहरूको विश्लेषण निम्नानुसार गरिएको छ  : 


३.१. सिलोकको लयविधान

 कविता विधामा जस्तै सिलोकमा पनि लयविधान आधारभूत तत्त्व हो । सिलोकका पङ्क्ति योजना वा पदयोजनाका साथै तिनका समष्टिबाट र तीभित्रका स्वर र व्यञ्जनवर्णका साम्य र वैषम्यबाट जस्तो सङ्गीत पैदा हुन्छ ,त्यो नै सिलोकको लयविधान हो । सिलोकमा पहिलो हरफ र दोस्रो हरफमा वर्णमात्रा समान किसिमले वितरण भएको हुनुका साथै अन्त्यानुप्रास मिलेको हुनाले सिलोक लयात्मक र मिठासपूर्ण हुन्छ । उदाहरणका लागि तलका सिलोकलाई लिन सकिन्छ : 

लक्ष्मी पार्वती विष्नु रुद्र यमराज श्रीचन्द्र सूर्जेहरू

सबलाई  म पुकार गर्छु दिन दिनै देवता  जति छन् अरू ॥


भाषा श्लोक  विषय चरित्र हरिको  गर्छु  तयारी भनी

मन भो परिपूर्ण  सब गरिदिऊन देउताहरूले पनि ॥   (स्रोत :गुणराज बजगाईँ , बनेपा ३ , काभ्रे  )

माथिका दुबै उदाहरणका श्लोकहरू छन्दका नियममा छैनन् तर उच्चारणगत हिसाबले मात्रिक छन्दसँग मिल्लाजुल्दा छन् । सिलोककोे बिश्राम यतिमै हुनुपर्छ भन्ने कुनै नियम त छैन । काभ्रे जिल्लामा सिलोक हालेको सुन्दा हरेक हरफका १३ अक्षरमा विश्राम लिई अन्तिममा  लामो स्वर निकालेर विश्राम लिइएको पाइन्छ । शास्त्रीय छन्द शार्दूलविक्रीडितसँग प्रस्तुत सिलोकको लय मिल्दोजुल्दो छ । सिलोकेहरूले सिलोकलाई स्वरको आरोह अवरोहबाट गेयात्मकता प्रदान गर्दछन् । यो गेयात्मक लोक साहित्य हो । माथिको सिलोकमा पनि वर्णको आवृत्ति, वर्णको संयोजन र अनुप्रासयुक्त शब्दहरूको प्रयोगले  सिलोक लयात्मक बन्न पुगेको छ  । 

काभ्रे जिल्लामा प्रचलित सिलोकहरूले शार्दूलविक्रीडित , स्रग्धरा, वसन्ततिलकाजस्ता प्रसिद्घ छन्दहरूको अनुकरण गरेको पाइन्छ । सिलोकले छन्दको अनुकरण लयमा गरेको हुन्छ तर  सिलोकमा छन्द भङ्ग भएको हुन्छ । छन्द भङ्ग भए पनि सिलोकहरू गेयात्मक र मिठासयुक्त हुन्छन् ।



 ३.२ केन्द्रीय कथ्य र भाव वा विचार


मानिसका जीवनका हरेक पक्षको अनुभव एवम् कार्यकलापको कथन  सिलोकमा हुन्छ र यस्ता कथन गरिएको विषयवस्तुको सारतत्व नै सिलोकको केन्द्रीय कथ्य हो । सिलोकको केन्द्रीय कथ्य सिलोकको मूल विषय वा सन्देश वा भाव–विचार पनि हुन्छ । सिलोकेका मनमा उब्जेका भावना वा वैचारिक दृष्टिकोण  जे जस्तो अभिव्यक्त भएको हुन्छ त्यही नै सिलोकको भाव वा विचार हो ।  

  सिलोकमा सामाजिक जनजीवनका विषयवस्तु, धार्मिक विषयवस्तु र ज्ञानविज्ञानका विषयवस्तुका आधारमा केन्द्रीय कथ्य प्रस्तुत गरिएको हुन्छ । धार्मिक विषयवस्तुको कथ्यलाई तलको उदाहणले प्रष्ट पारेको छ  : 


 लक्ष्मी पार्वती विष्नु रुद्र यमराज श्रीचन्द्र सूर्जेहरू

सबलाई  म पुकार गर्छु दिन दिनै देवता  जति छन् अरू ॥


भाषा श्लोक  विषय चरित्र हरिको  गर्छु  तयारी भनी

मन भो परिपूर्ण  सब गरिदिऊन देउताहरूले पनि ॥ (स्रोतः गुणराज बजगाईँ , बनेपा ३,काभ्रे)

 प्रस्तुत  सिलोकमा लक्ष्मी , विष्णु, रुद्र , चन्द्र , सूर्य र सबै देवताहरूको नाम लिनुले   सिलोकमा धार्मिक विश्वास र आस्था जस्ता विषयवस्तु रहेको प्रष्ट देखिन्छ । 

यहाँ सिलोकको थालनी भगवानहरूका नामको स्तुतिबाट भएको छ । सबै भगवानलाई सम्बोधन गर्दै मनका सबै कुरा भगवान्‌ले परिपूर्ण गरिदियून भन्ने भाव  प्रस्तुत गरिएको कारणले सिलोक धार्मिक विषयवस्तुमा  आधारित हुन्छन् भन्ने कुरा प्रष्ट हुन्छ  । 

   काभ्रे जिल्लामा प्रचलित सिलोकमा महिलाले पराइ घरमा गर्नु परेको सङ्घर्ष , दुःख र पीडाका भावहरू पनि व्यक्त गरेको पाइन्छ । त्यस्तै एक विवाहिता महिलाले जन्मघरको स्मरण गर्दै पराइ घरमा आफूले पाएको पीडालाई सिलोकका माध्यमबाट यसरी आफ्ना वीरहका भावलाई प्रस्तुत गरेकी छिन् : 

 पातपातमा पुतली हाँगैमा  जुरेली ,टुप्पैमा बस्ने सुगा

बाबाका धनले के गर्यो छोरीलाई च्यादर भएका लुगा

 थानकोटको फेदीमा चिनेको चौतारी त्यो कसको धर्मै होला

दुल्है हो घरकी पेटभरि खानदेऊ एक बारको मर्ने चोला ॥                                   

घर मेरो अनेकोट, मावली बुचाकोट, माइती त झाँगाझोली

भागीनासी पनि माइत जाऊँ भने के भन्छन् बाले भोलि

सुनकोसी नदी ता परैतिर गयो झन्‌झन् ठूलो भै बगी

मान्छेको जुनी यो आउन्न फेरि ता जाउँ त्यसै के डुबी ।

                                   

पराजुली :२०५७ः ३६० )

प्रस्तुत सिलोकले छोरीले अरूको घरमा गएर भोग्नुपर्ने दुःख पीडालाई कसरी खपेर बस्न बाध्य  छन् भन्ने कुरालाई व्यक्त गरेको छ । त्यसैले माथि  उल्लेखित सिलोकमा सामाजिक यथार्थलाई विषयवस्तुको रूपमा  प्रस्तुत गरिएको छ । यसले तत्कालीन समाजको चलन अर्थात् सामाजिक परम्परालाई अंकित गरेको छ ।

 सिलोकमा  विवाहिता नारीद्वारा आफ्नो माइती, मावली र घरको वर्णनको प्रसङ्गमा  काभ्रे जिल्लाको  पूर्वी उत्तरमा रहेको अनेकोट, पूर्वी दक्षिणमा रहेको बुच्चाकोट , काभ्रे र सिन्धुलीको सिमानामा रहेका  झागाझुली र सुनकोसी नदी अादि ठाउँको वर्णन गरिएको छ । यस आधारमा सिलोकमा  भौगोलिक विषयवस्तुको प्रयोग भएको कुरा प्रष्ट हुन्छ ।

त्यस्तै काभ्रेमा प्रचलित सिलोकमा वैचारिक भावको र उपमा अलङ्कारको प्रयोग भएको उदाहरण यहाँ प्रस्तुत गरिएको छ : 

डाडु डुब्दछ दुधमा तर सखे त्यो स्वाद  के जान्दछ ।

पण्डितकासँगमा बसी  हित कुरा कुन मूर्खले मान्दछ ॥ ( स्रोत ,गुणराज बजगाईँ , बनेपा काभ्रे )

जसरी दुधमा रहेको डाडुले दुधको स्वाद लिन सक्दैन त्यसरी नै मूर्खले पनि विद्वानको साथ पाएपनि ज्ञान लिन सक्दैन भन्ने भाव माथिको सिलोकले व्यक्त गरेको छ । सिलोकमा भाव सम्प्रेषणबाट  नैतिक सन्देश समेत दिएको छ । यसरी विभिन्न विषयवस्तुमा केन्द्रीत भई सिलोकेले आफ्ना मनका भाव वा विचार व्यक्त गरेको पाइन्छ । 


३.३. सिलोकका कथन पद्घति : 


 कुनै पनि साहित्यिक रचना मूलतः रचनाकारकै कथनमा हुने गर्दछ तर कथन भने बेग्लाबेग्लै  ढङ्गबाट प्रस्तुत हुन सक्छ । रचनामा प्रथम पुरुषात्मक ,द्वितीय पुरुषात्मक र तृतीय पुरुषात्मक कथन पद्घतिको प्रयोग भएको पाइन्छ । सिलोकमा पनि कवितामा जस्तै प्रथम पुरुष दृष्टिविन्दु र तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको हुन्छ । उदाहरणका लागि तलका सिलोकलाई हेरौँ :

            सिलोक १

लक्ष्मी पार्वती विषनु रुद्र यमराज श्रीचन्द्र सूर्जेहरू

सबलाई  म पुकार गर्छु दिन दिनै देवता  जति छन् अरू ॥


भाषा श्लोक  विषय चरित्र हरिको  गर्छु  तयारी भनी

मन भो परिपूर्ण  सब गरिदिऊन देउताहरुले पनि ॥

 

डाडु डुब्दछ दुधमा तर सखे त्यो स्वाद  के जान्दछ

पण्डितकासँगमा बसी  हित कुरा कुन मूर्खले मान्दछ ॥ ( स्रोत ,गुणराज बजगाईँ , बनेपा काभ्रे )


सिलोक  २ 

हे नानी तिमी ता पहेँली पुतली बेलगेडी राम्रो कपाल

बाबाले दिनु भो पुरिब दिशा हेरी मैले रोजेको नेपाल ॥

सात हातको फरिया, सुजैकी पटुकी बन्धन छिन्यो डोरीको 

अर्काका घरमा नगइ नहुने के कर्म यो छोरीको ।


पातपातमा पुतली हाँगैमा  जुरेली ,टुप्पैमा बस्ने सुगा

बाबाका धनले के गर्यो छोरीलाई च्यादर भएका लुगा

 थानकोटको फेदीमा चिनेको चौतारी त्यो कसको धर्मै होला

दुल्है हो घरकी पेटभरि खानदेऊ एक बारको मर्ने चोला ॥


घर मेरो अनेकोट, मावली बुचाकोट, माइती त झाँगाझोली

भागीनासी पनि माइत जाऊँ भने के भन्छन् बाले भोलि

सुनकोसी नदी ता परैतिर गयो झन्‌झन् ठूलो भै बगी

मान्छेको जुनी यो आउन्न फेरि ता जाउँ त्यसै के डुबी ।

                                 

  पराजुली :२०५७ः ३६० )

माथिको पहिलो सिलोकका दुई फाकीमा म सर्वनामको प्रयोग हुनुका साथै प्रथम पुरुषीय दृष्टिविन्दु प्रयोग भएको छ भने इच्छार्थक क्रियापदको प्रयोग भएको छ । पहिलो सिलोककै अन्तिम फाकीमा डाडु र मूर्ख कर्ताका रुपमा आएकाले तृतीय पुरुष दृष्टिविन्दु प्रयोग भएको छ  । 

 माथिको दोस्रो सिलोकमा कविते वा सिलोकेद्वारा  मैले  , जाऊँ जस्ता प्रथम पुरुषीय सर्वनाम तथा क्रियापदहरूको प्रयोग गरिएको छ ,त्यसैले दोस्रो सिलोकमा प्रथम पुरुषीय दृष्टिविन्दु रहेको छ ।  

माथिका आधारमा हेर्दा पहिलो  सिलोकमा आन्तरिक कथन ढाँचा र बाह्य कथन ढाँचामा सिलोकको संचना बनेको छ । दोस्रो सिलोक भने आन्तरिक कथन ढाँचामा संरचित छ । 

३.४. सिलोकमा बिम्ब तथा अलङ्कार


सिलोकमा व्यक्त भाव विचारलाई प्रभावकारी बनाउनका निमित्त सम्बन्धित भाव विचरासँगसँगै छायाँ जस्ता भई आउने तत्त्वहरू नै सिलोकका  अलङ्कार हुन् । सिलोकमा पनि जीवन र जगत्‌का बिम्ब वा उपमान प्रयोग गरिएको छ ।  उदाहरणका लागि तलको सिलोकलाई लिन सकिन्छ : 

डाडु डुब्दछ दुधमा तर सखे त्यो स्वाद  के जान्दछ ।

पण्डितकासँगमा बसी  हित कुरा कुन मूर्खले मान्दछ ॥  (स्रोत ,गुणराज बजगाईँ , बनेपा –३, काभ्रे  )



 माथिको  सिलोकमा दुधमा चोपिएको डाडु र विद्वाानसँग बसेको मुर्खलाई तुलना गरिएको छ । दुधको स्वाद डाडुले थाह पाउन नसक्नु र विद्वाानसँगको ज्ञान मूर्खले लिन नसक्नु उस्तै हो भन्ने कुरालाई तुलना गरिएका कारण प्रस्तुत सिलोकमा उपमा अलङ्कारको प्रयोग भएको छ ।  कविता विधामा झैँ  सिलोकमा पनि विभिन्न  विम्बको प्रयोग गरेर सिलोकको कला पक्षलाई विशेष ध्यान दिएको देखिन्छ । 

सिलोक अनौपचारिक भाषामा प्रस्तुत गरिने भए पनि सिलोकमा बिम्बका माध्यमबाट मानिसका अन्तर्हृदयका भाव प्रस्तुत गरिएको पाइन्छ । 

३.५ सिलोकको भाषा शैली 

भाषाशैली पनि सिलोकको एक आधारभूत तत्त्व हो । सिलोकमा व्यक्त मूल भाव विचार व्यक्त गर्न उपयुक्त वर्ण, शब्द, शब्दावली आदिको चयन गर्नु नै सिलोकको भाषाशैली हो । सिलोकमा अनौपचारिक भाषाको प्रयोग गरिन्छ अर्थात् कथ्य भाषालाई नै प्राथमिकता दिइन्छ । सिलोकको भाषा विश्लेषणका लागि निम्न उदाहरणहरूलाई लिन सकिन्छ : 

                 सिलोक १

लक्ष्मी पार्वती विषनु रुदर यमराज श्रीचन्द्र सूर्जेहरू

सबलाई  म पुकार गर्छु दिन दिनै देवता  जति छन् अरु ॥

                 सिलोक २

हे नानी तिमी ता पहेँली पुतली बेलगेडी राम्रो कपाल

बाबाले दिनु भो पुरिब दिशा हेरी मैले रोजेको नेपाल ॥

सात हातको फरिया, सुजैकी पटुकी बन्धन छिन्यो डोरीको 

अर्काका घरमा नगइ नहुने के कर्म यो छोरीको ।



  माथिका सिलोकमा  कथ्य मौलिक भाषाको प्रयोग भएको छ । आधा अक्षरलाई पनि लय मिलाउनको लागि पूरा वर्णको उच्चारण गरिएको छ । जस्तो रुद्र भन्नु पर्नेमा ‘रुदर’ भनिएको छ । पूर्व हुनुपर्नेमा ‘पुरिब’ को प्रयोग भएको छ । लेख्य भाषा ‘सूर्य’ हुनुपर्नेमा  ‘सुर्‌जे’ प्रयोग भएको छ । त्यसैले सिलोकमा लेख्य वा मानक भाषाको प्रयोग नगरी कथ्य र मौलिक भाषाको प्रयोग गरिन्छ । 

सिलोक लय प्रधान लोक साहित्य भएकाले पनि यसमा औपचारिक लेख्य भाषाको परवाह गरिदैन । माथिका सिलोकमा एउटै वर्णको पटक पटक आवृत्ति भएको छ । अन्त्यानुप्रास मिलाइएको छ । बिम्बहरूको सुन्दर प्रयोग गरिएको छ । तत्भव शब्दको धेरै प्रयोग गरिएको छ । सिलोकमा प्रयोग भएका बिम्ब , कथ्य भाषा, अशुद्ध शब्दहरूको प्रयोग हुनु नै यसको विशेषता हो । 


४.निष्कर्ष :

नेपाली लोक साहित्यअर्न्तगत सिलोक परम्परादेखि चल्दै आएको पुरानो विधा हो । मानक भाषाको विकास अघि नै  विकास भएको सिलोकको महत्त्व अहिले पनि उत्तिकै रहेको छ ।  परम्परादेखि नै मानिसले औपचारिक भाषाको ज्ञान नभए पनि अनौपचारिक रूपमा  सिलोकका माध्यमबाट भाव वा विचारको सम्प्रेषण गर्दै आएका छन् । नेपाली लोक साहित्यमा धेरै पक्षबाट विभिन्न विधा तथा उपविधाको अध्ययन गरिएको छ । यस अध्ययनमा सिलोक र अन्य विधामा फरक के छ भन्ने कुरा सैद्धान्तिक अवधारणामा प्रष्ट पारिएको छ । काभ्रे जिल्लामा प्रचलित  सिलोकका आधारमा सिलोकको भाव वा विचार ,  सिलोकमा  प्रयोग भएको भाषाशैली , सिलोकको लयविधान , सिलोकमा प्रयोग भएका बिम्ब तथा अलङ्कार, सिलोकको कथन पद्धति जस्ता सिलोकका तत्त्वहरूको  विश्लेषण गरी सिलोकमा पनि कविताका झैँ सबै तत्त्व हुने तर सिलोकमा कविताको जस्तो शीर्षक चाहिँ नहुने कुराको निष्कर्ष निकालिएको छ । सिलोकमा शीर्षक दिएर सिलोक भनिदैन । कविताका तत्त्वहरू भन्दा फरक हुनुको कारण पनि सिलोकमा शीर्षक नहुनु  हो । सिलोकलाई अन्य विधाका तत्त्वहरूभन्दा फरक ढङ्गबाट अध्ययन गरिनु आवश्यक छ ॥ 

सन्दर्भ सामग्री सूची :

पोखरेल,माधवप्रसाद (२०७६).नेपाली साहित्यको बृहत् इतिहास् .ललितपुर :जगदम्बा ।

लामिछाने, कपिलदेव (२०७७) लोक साहित्य सिद्धान्त .काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।

लुइटेल, खगेन्द्रप्रसाद(२०६८).लोकसाहित्यको परिचय.काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार 


Post a Comment

0 Comments