सोमे दाइ (कृष्णराज अर्याल)

 

सोमे दाइ






-कृष्णराज अर्याल

म सानो छँदा मेरो घरमा औषधी पसल थियो । मेरो बुबा पेशाले शिक्षक भएता पनि उहाँलाई आयुर्वेदिक र एलोपेथिक, दुवै खाले औषधीको ज्ञान थियो। बुवाले नाडी छामेर पनि कैयौँ बिरामीको अवस्था पत्ता लाउनु हुन्थ्यो। गाउँमा कोही बिरामी पर्दा पहिलो उपचारको लागि मेरो घरमा आउँथे ।कहिले काहीं  बुबा आफै स्टेथेस्कोप थर्मोमिटर बोकेर बिरामीको घरमा जानुहुन्थ्यो । सायद यी सबै कुराहरुले होला बुबामाथि गाउँलेहरुको राम्रै विश्वास थियो र बुबालाई सानोतिनो डाक्टर नै सम्झिन्थे ।

बुबाले घरमा बिक्रिको लागि औषधि बुटवलबाट ल्याउने गर्नुहुन्थ्यो| कहिले एकजना भारी बोक्ने मान्छे लिएर आफैं जानुहुन्थ्यो त कहिले कोही पाको, परिपक्व, विश्वासिलो मान्छेलाई औषधिको सूची र पैसा सहित बुटवल पठाउनुहुन्थ्यो| सो व्यक्तिले बुटवलमा बुबाले तोकेका ठूला औषधि पसलबाट औषधि ल्याउने गर्दथ्यो| त्यसताका मेरो घर अर्घाखाँचीसम्म यातायातको र सञ्चारको त्यति राम्रो सुविधा थिएन| घरबाट एक दिनको बाटो हिँडेर कपिलवस्तुको पत्थरकोट भन्ने ठाउँसम्म जानुपर्दथ्यो र त्यहाँबाट बल्ल मोटर चढेर गोरुसिंगे हुँदै  बुटवल सम्म पुगिन्थ्यो र घर आउँदा पनि त्यस्तै पत्थरकोटबाट हिँडेरै आउनुपर्दथ्यो| बुटवल सम्म आउन कम्तिमा पनि २ दिन लाग्थ्यो|

एकपटकको कुरा हो, बुबाले मेरै गाउँको सोमबहादुर (बोलाउने नाम सोमे) दाइलाई सबै आवश्यक तयारीका साथ बुटवल पठाउनुभयो| उनी हिँडेर पत्थरकोट, अनि मोटर चढेर बुटवल पुगेछन्| भोलिपल्ट सूची अनुसारको औषधिको भारी बनाएर, पत्थरकोट आएर बास बसेछन्| भोली बिहान सबेरै उठेर औषधिको भारी पिठ्यूँमा बोकेर उकालो चढेछन्, धेरै नै बाटो कटेपछि उनको स्वास्थ्यमा समस्या देखिन थालेछ| एक्लै हिँडेका सोमे दाइलाई बारम्बार पखाला चलेछ र बान्ता पनि भएछ| सायद गर्मी मौसम र खानपिन नमिलेर होला । कतै आफैँ रोकिन्छ कि भनेर सकेसम्मको हिँड्ने प्रयास गरेछन् तर निरन्तरता बढ्दै गएछ । उनी धेरै नै गलेछन् ।

उनले त्यो औषधिको भारी बाटोको पसलमा जिम्मा लगाएर, आफूलाई औषधी किन्न फर्केर फेरि पत्थरकोट नै आएछन् र औषधि किनेर खाइवरी त्यो दिन त्यहीँ आराम गरेछन्। भोलिपल्ट स्वास्थ्यमा सुधार भएपछि औषधिको भारी बोकेर बेलुका मेरो घरमा आइपुगेर यी सबै कुराको बृतान्त मेरो बुबालाई सुनाउँदा मैले पनि सुनेको यथार्थ घटना लेखिरहेको छु । उनको कुरा सुनेपछि बुबाले भन्नुभयो के गर्ने सोमे तेरो विमार ठिक पार्ने औषधी त तैंले आफै बोकेर ल्याएको थिइस् तँलाई औषधीको ज्ञान नहुँदा आफैंले बोकेर ल्याएको औषधि चिन्न नसकेर त्यही नै औषधि किन्न आधा दिनको बाटो फर्केर पत्थरकोट पुगी धेरै दुःख पाएछस्|” यी सबै कुरा सुनेर छक्क परेँ|

वास्तवमा ती सोमे दाइले बोकेको औषधिको भारी जस्तै हामी पनि खल्तीमा महँगो मोबाइल झोलामा ल्यापटप ,ट्याब, हातमा स्मार्टवाच वा त्यस्तै अन्य कुराहरु बोकिरहेका हुन्छौँ तर तिनीहरुले गर्ने कार्यसम्पादन क्षमताको बारेमा राम्रो ज्ञान राख्दैनौं ।हाम्रा झोलाभरि, दराजमा ,पुस्तकालयमा किताबहरु त हुन्छन् तर ती किताबहरु भित्र भएका अक्षर ,शब्द, वाक्य र चित्रहरूको सार र शक्तिको बारेमा ज्ञान हासिल गर्नुपर्छ भन्ने कुराको चासो राख्दैनौं ।हामीले हाम्रो शिरमा यस्ता कयौं भारीहरू बोकेर हिँडिरहेका छौँ होला जसको सही प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान र शिप नहुँदा हाम्रो दैनिकी जटिल र दुःखदायी भइरहेको हुनसक्छ

 सोमे दाइको घटनाले सिकाएको पाठ भनेको मानिसमा सामान्य जानकारी सबै कुराको हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो| बिचरा सोमे दाइ  धन्नै तिम्रो ज्यान गएन! अज्ञानता र अशिक्षा भन्ने कुरा सानो रहेनछ|

Post a Comment

0 Comments