‘गाउँको माया’ कथामा अनुभूतिको संरचना (पवित्रा दाहाल)

 

गाउँको माया’ कथामा अनुभूतिको संरचना






 पवित्रा दाहाल

नेपाली शिक्षक

विषयप्रवेश :

तीसको दशकको पूर्वाद्धदेखि कथा लेखनमा सक्रिय कथाकार इस्माली प्रगतिशील कथाकार हुन् । उनी सामाजिक तथा राजनीतिक क्षेत्रका विकृत तथा विसङ्गत पक्षलाई कथाको विषयवस्तु बनाइ कलात्मक ढङ्गबाट कथा लेख्न सिपालु छन् ।  कथाकार इस्मालीका कथामा समाजमा हुने द्वन्द्व , राजनीतिक तहमा प्रभुत्वशाली पक्षले गरिब निमुखाप्रति गरेको शोषण , प्रभुत्वशाली वर्गका पछि लागेर अवसर लिने अवसरवादी समुदायका विविध रूपलाई कथाकार इस्मालीले छर्लङ्ग पारेका छन् ।

  वि.सं.२०१२ साल जेठ ४ गते महोत्तरीको औरही नगरपालिका १ मा जन्मेका इस्मालीका बाबु गोविन्द उपाध्याय हुन् भने आमा तिलकुमारी देवी पौडेल हुन् । इस्मालीको वास्तविक नाम महेश्वरप्रसाद उपाध्याय हो  । बाल साहित्यमा भने उनी  महेश पौडेल नामले चिनिन्छन् । उनले प्राध्यापन सेवाका अतिरिक्त नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुऱ्याएका छन् । समाजिक यथार्थवादी मान्यताका आधारमा कथा लेख्न रुचाउने इस्माली प्रगतिवादी कथाकार हुन् । उनका घाम घामजस्तो छैन (२०५८) , काट जर्किन डी (२०६४), इस्मालीका प्रतिनिधि कथा (२०६७) , श्रीको खोजी (२०७३) र कामरेडको कोट (२०७७), माछो माछो भ्यागुतो (२०७७)  कथासङग्रहहरू  प्रकाशित भएका छन् । उनका दुई उपन्यास र दुई अनुदित कथासङ्ग्रहहरू पनि छन् ।

कथाकार  इस्मालीले शोषित, उत्पीडित, उपेक्षित वर्गका पीडा, दबाबमूलक अनुभूतिलाई आफ्ना कथामा समेटेका छन् । यस लेखमा शोषक वर्गको जालमा फसेका र उक्त जालबाट फुत्कने प्रयास गरेका निम्न वर्गीय सम्प्रदायको सघङ्घर्षलाई आधार मानेर लेखिएको ‘गाउँको माया’ कथाको विश्लेषण गरिएको छ ।

नेपालमा अहिले पनि गरिब  तथा भूमिहीन व्यक्तिहरू मालिकहरूबाट शोषित छन् । अन्याय र अत्याचारमा परेका छन् । यस्ता निम्न वर्गको उत्थानका लागि चेतनाको विकास हुनु आवश्यक छ । चेतना विकासका लागि तनाब र दबाबको स्थितिले कसरी भूमिका खेल्छ भन्ने कुराको विश्लेषण गर्नु यस लेखको औचित्य हो ।

  अध्ययनको विधि :

यो लेख तयार  गर्दा सामग्रीको सङ्कलन , वर्गीकरण,  विश्लेषण र व्याख्या, सामग्रीको तुलना र मूल्याङ्कन गरी निष्कर्षसम्म पुगी सिद्धान्तको प्रतिपादन गरिएको छ । यस लेख तयार गर्न निम्नलिखित विधि प्रयोग गरिएको छ:

 सामग्री सङ्कलन विधिः

प्रस्तुत अध्ययनमा अध्ययन विषयसँग सम्बन्धित आवश्यक सामग्रीहरू प्राथमिक र द्वितीय स्रोतबाट सङ्कलन गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा कक्षा ११ को पाठ्यपुस्तकमा रहेको ‘गाउँको माया’ कथा रहेको छ । साथै रेमन्ड विलियमसको सिद्धान्त पनि प्राथमिक स्रोतका आधारमा सङ्कलित सामग्री  हो । यसैको आधार मानेर कथालाई विश्लेषण गरी लेख तयार गरिएको छ ।

  द्वितीयक विधि:  यो लेख पुस्तकालयीय विधिमा आधारित भई तयार पारिएको हुँदा द्वितीयक स्रोतबाट प्राप्त सामग्रीलाई अध्ययन विश्लेषणको आधार बनाइएको छ ।

                               सैद्धान्तिक परिचय

 अनुभूतिको संरचनाको मान्यता सन् १९२१ मा वेल्सको मजदुर परिवारमा जन्मेका बेलायती चिन्तक रेमन्ड विलियम्सको हो ।  अनुभूतिको संरचना अङ्ग्रेजीको स्ट्रक्चर अफ फिलिङको नेपाली रुपान्तरण हो । यस पदावलीमा अनुभूति र संरचना गरी दुईओटा पदहरूको प्रयोग गरिएको    । यी दुवैको अर्थ  अनुभूतिको संरचनाबाट अनुभवको बनोट पूर्ण ज्ञानको बनावट वा ढाँचा भन्ने अर्थ निष्पत्ति हुने देखिन्छ । (पौडेल २०६८, पृ १९) मजदुरहरूको जीवन र उनीहरूको आन्दोलनलाई नजिकबाट हेर्ने र अध्ययन गर्ने अवसर पाएका विलियम्सले समाजको जनजीवन र सांस्कृतिक चेतनाको गहिरो सम्बन्धलाई नजिकैबाट अध्ययन गर्ने मौका पाए । उक्त कुरालाई उनले आफ्नो उपन्यासमा सजीव रुपमा उतारे । यसै क्रममा उनले बेलायतको प्रभुत्वशाली अभिजात संस्कृति र विचारधारासँग सङ्घर्ष गर्दै आफ्नो ठाउँ बनाए । 

उनले प्रतिपादन गरेको मान्यता अनुभूतिको संरचनाले साहित्यलाई समाज र संस्कृतिसँग जोडेर अध्ययन गर्दछ । उनको अनुभूतिको संरचना भन्ने मान्यता सन् १९५४ मा प्रिफेस टु फिल्म एन्ड ड्रामाटिक ट्रेडिसन भन्ने लेखमार्फत पहिलो पटक सार्वजनिक भएको हो । उनले यसमा भनेका छन् स् “हामी एउटा कालखण्डको अध्ययनमा त्यस कालको भौतिक जीवन, सामाजिक सङ्गठन र एउटा सीमासम्म प्रधान विचारहरूलाई कमबेसउनले यस मान्यमा बेलायतको अभिजात वर्गसँग सङ्घर्ष गर्दै संस्कृति, साहित्य सम्बन्धि आफ्ना धारणाहरू प्रस्तुत गरेका छन् ।”

रेमण्डका कल्पनाहरूलाई मानवीय अनुभूतिको सहायक र रचनालाई कलात्मक रूपाकार दिने शक्ति मान्छन् (क्षेत्री २०६४: ४४) उनका विचारमा कुनै कलाकृतिको सर्वाङ्ग सर्वेक्षण पछि प्राप्त हुने विशिष्ट प्रकारको अनुभव नै अनुभूति संरचना हो ।  यो कुनै खास समाजको खास समयको संस्कृति पनि हो ।  विलियम्स रचनामा व्यक्त भएको अनुभूतिको संरचनाबाटै सामाजिक जीवनमा भएको संरचनालाई पहिचान गर्ने प्रयास गर्छन् (पाण्डे २००६: १८४) ।  समाजमा प्रभुत्वशाली, वैकल्पिक (अधीनस्त) र उदीयमान गरी जम्मा तीन पिँढीको संस्कृति प्रभावका दृष्टिले पहिलो ,दोस्रो र तेस्रो  अवस्थामा रहेका हुन्छन् । समाजका यी तीनै पिँढीहरूको आपसी सम्बन्ध  र क्रियाकलापबाट अनुभूतिको संरचना निर्माण हुन्छ । यस्तै प्रभूत्वशाली पिँढीका स्वार्थलाई सुरक्षित राख्न अधीनस्त पिँढीलाई दबाब दिइने हुन्छ । जसले अधीनस्त पिँढीलाई दबाब र तनाबको स्थिति सिर्जना हुन्छ ।

     यस लेखमा अनुभूतिको संरचनाका आधारमा गाउँको माया कथामा प्रभुत्वशाली पिँढीले  अधीनस्त पिँढीमा के कस्तो दबाब र तनाब दिएको छ र अधीनस्त पिँढीले आफ्नो अधिकारका लागि के कस्ता कदम चालेका छन् अर्थात्  उदयमान पिँढीमा नयाँ विचारको उदय कसरी भएको छ भन्ने कुराको विश्लेषण गरिएको छ । गाउँको माया कथामा प्रभूत्वशाली पिँढी, वैकल्पिक (अधीनस्त) पिँढी र उदीयमान पिँढीका आधारमा कथाको विश्लेषण गरिएको छ ।

गाउँको माया कथाको विश्लेषण

प्रभूत्वशाली पिँढी

प्रभुत्वशाली पिँढी समाजमा शासक समुदायका रुपमा रहन्छ । जसको संस्कृति समाजमा मूलधारका रुपमा रहेको हुन्छ । यसले आफ्नो मूल्यमान्यतालाई नै समाजमा स्थापित गराइरहन पहल गर्दछ ।

गाउँको माया कथा नेपालको सामन्तवादी ,शोषकवर्गको आर्थिक व्यवस्थामा आधारित कथा हो  । यस कथामा परिछन , बुधना, रामदरस लगाएतका विभिन्न  विपन्न निम्नवर्गले आर्थिक अवस्थाका कारण भोग्नु परेको सामाजिक यर्थाथलाई देखाइएको छ । भर्खर गाउँ आएको कृष्णलाई परिछनले मालिकबाट पिडित भएको सम्पूर्ण आफ्ना वेदना व्यक्त गरेको छ  । यस कथामा मालिकहरुको ज्यादतीलाई सूक्ष्म रूपमा व्यक्त गरिएको भएता पनि सम्पूर्ण कथा शोषक वर्गको ज्यादती अर्थात् दबाब र तनाबका कारण  शोषित वर्गमा सिर्जना भएको अनुभूतिको संरचनामा आधारित छ ।

 

गाउँको माया’ कथामा कथाकारले प्रभुत्वशाली वर्गको निम्नवर्गलाई थिचोमिचो गरेर अघि बढ्न नदिएको र दासप्रथा समेत पुस्तानान्तरण भएको प्रसङ्गलाई यसरी प्रस्तुत गरिएको छ:

जमाना थियो ( म र परिछन लँगौटिया यार थियौँ । गाई चराउँथ्यौँ (सँगसँगै । सिजनमा बदाम, मकै चोरेर ओराहा खान्थ्यौँ र गीत गाउँथ्यौँ , “गाई चरवाहा टुअर (टापर, मैँस चरवाहा चोर । बकरी चरवाहा छिनर छानर, ताके पारो ओर । ” ती दिनहरु अब धेरै पछाडि छुटिसके । त्यै गीत अचेल परिछनको छोराले गाउँदो हो गोठालो लागेका बेला,परिछनको छोरो पनि बाउको बिँडो थाम्दै।  पछि, अलि उमेरदार भएपछि हली बस्ला । परिछन पनि पहिले गोठालो थियो , लगभग छसात वर्षकै उमेरदेखि । चौधपन्ध्रको किशोर वय नहुँदै बनी कमाउन थाल्यो र पछि हली बस्यो , सायद ज्यालादारीमा । छोरालाई पनि त्यही काम सिकाउँछ र पछि छोराले पनि आफ्नो छोरालाई पनि त्यही काम सिकाउला । यसरी एवम् रितले यो परम्परा अनन्त परिछनहरूका बलिया पाखुरीहरूबाट क्रमशः हस्तान्तरण हुँदै रह्यो (पृ.१३) ।

म पात्र कृष्णले प्रभुत्वशाली वर्गले निम्न वर्गमाथि गरेको शोषण, दमन र उत्पीडनको कारण बताएका छन् ।  माथि प्रस्तुत  आधारमा पनि परिछन जस्ता निम्नवर्गको जीवन परिवर्तन हुन नसक्नुको कारण प्रभूत्वशाली पिँढीको ज्यादतीका कारणले हो भन्ने कुरा व्यक्त भएको छ  । पेट पाल्नका लागि मालिकका घरमा गएर हली बस्न बाध्य कयौँ परिछनको कथालाई यस कथाले जोडेको छ । नयाँ सीप र शिक्षाको कमी भएका, दबाब र तनाबको स्थिति हुँदाहुदै पनि परिर्वन हुन नपाएका र  गरिबीका कारण दुःख र शोषण पनि पुस्तानान्तरण हुँदै गएको अवस्थालाई अभिव्यक्ति गरिनुले प्रभूत्वशाली पिँढीले परिछन जस्ता कयौँ परिछनलाई आफ्नो पकडमा राखी दबाब र तनाबको स्थितिमा पुऱ्याएको यथार्थलाई व्यक्त गरिएको छ 

कथामा प्रभुत्वशालीले गरिब तथा निमुखा वर्गमाथि गरेको दबाब र तनाबको स्थितिलाई तलको प्रसङ्गबाट प्रष्ट्याउन सकिन्छ ।

पानी पिउँदै गर्दा लगभग उदास र आद्र्र उसको स्वर मेरो कानमा गुन्ज्यो । उसले जसरी अँध्यारो मुखमुद्रामा  बिनाभूमिका मलाई यो खबर सुनायो । सहसा मलाई लाग्यो ( गाउँमा सायद  अब अङ्ग्रेजहरुको रोग सर्दै छ , डिभाइड एण्ड रुल १ परिछनहरु भाँचिदै छन् । परिछनहरुको सगबगाउँदो चेतनासँग गाउँका ठालुहरु नयाँ जुक्तिहरु सोच्दै छन्  ता कि  तमाम परिछनहरू परिछन नै रहून् । अर्थात् क्रीतदासरुपी हलीगोठाला नै रहुन् र मालिकहरुकै कृपापात्र भएर रहुन् , जुन एउटा परम्पपराका रुपमा तिनका पूर्खाहरूले तिनका हातमा नासो छोडेर गएका थिए  (पृ १४) ।

कृष्णको यो भनाइबाट गाउँका कुनै व्यक्तिको मात्र धारणा नभइ सिङ्गो मालिक वा प्रभुत्वशाली पिँढीको प्रतिनिधि सोच हो । माथिको भनाइद्वारा मालिकहरूले कम ज्याला दिएर श्रम शोषण गरिरहेको यथार्थलाई अभिव्यक्त गरिएको छ  । निम्न वर्गका प्रतिनिधि पात्र परिछन लगायत निमुखा गाउँलेहरू  यस्ता शोषणको विरुद्धमा लाग्न हड्ताल गर्दा हड्तालका नायिके फेकन र शनिचरलाई मालिकहरूले चार चार मन धान दिन्छु भनेर लोभमा पार्दै उनीहरुरूको एकता र शक्ति फुटाउन सफल भएका छन् ।  मालिकहरूले डिभाइन एण्ड रुलको नीति लिएको तथ्यलाई माथिको भनाइबाट प्रष्ट हुन्छ । प्रभूत्वशाली पिँढीले यस्तो नीति लगाउनुमा  उनीहरूको परम्परागत स्थापित प्रभुत्वशाली संस्कृति कायम  भइरहोस् भन्ने धारणा रहेको स्पष्ट हुन्छ । गाउँको माया कथामा मालिकहरु प्रभुत्वशाली पिँढी हुन् ।

 

 वैकल्पिक पिँढी: यो पिँढी स्थापित परम्पराका विकल्पमा देखा परेको पिँढी हो । जसले स्थापित परम्पराका विकल्पमा अर्को परम्परालाई स्थापित गराउन पहल गरेको हुन्छ । शासक पिँढीको विरुद्धमा आवाज उठाएको हुन्छ ।

गाउँको माया कथामा कृष्णले वैकल्पिक पिँढीको प्रतिनिधित्व गरेको छ । गाउँका प्रभुत्वशाली पिँढीका दबाबका कारण परिछन लगायत गाउँका हली बस्न बाध्य गरिबहरूमा तनाब सिर्जना भएको छ । त्यस्ता दबाब र तनाबका कारण गाउँका परिछन र अन्य निम्न वर्गलाई आफू अन्याय अन्त्याचारमा परेको अनुभूति भएको छ । कृष्ण गाउँमा नबसे पनि  परिछन र परिछन जस्ता गाउँमा दास बनाइएका निम्न वर्गका साथीभाइको अनुभूतिलाई कृष्णले पनि आत्मसात गरेको छ । अर्थात् कृष्णमा पनि अनुभूतिको संरचना निर्माण भएको छ ।  

 कृष्ण गाउँका हरेक गतिविधिप्रति सधैँ चाख दिन्छ  । कृष्ण गाउँमा आउन नपाउँदा पनि गाउँमा हुने गरेका हरेक क्रियाकलापप्रति जानकार छ । कृष्ण परिछनजस्ता निम्न वर्गीय पात्रहरूको पक्षमा छ । परिछनका हरेक कुरामा साथ दिएको छ । परिछनले आफ्ना दुःख र प्रभुत्वशालीले गरेको दमन, शोषण र उत्पीडनको बारेमा कृष्णलाई भेट्ने बितिक्कै बताउनु र कृष्णप्रति  स्नेह तथा आत्मीयता दर्शाउनुले  कृष्ण निम्न वर्गीय पात्रहरूका पक्षमा छ भन्ने कुरा स्पष्ट हुन्छ । परिछनको बाबु हली भएकै कारण परिछन पनि हली बस्नुपर्‍यो अब पनि समाज परिवर्तन नभए परिछनको छोरा पनि हली बस्ला । यसरी परिछनका पुस्तौपुस्ताले पाखुरी पुस्तानान्तरण गर्नुपर्ला अर्थात् अन्याय ,अत्याचार सहेर थोरै बनी थापेर काम गर्नुपर्ने होला  भन्दै कृष्णले चिन्ता  प्रकट गरेको छ । कृष्णले यो चिन्ता प्रकट गर्नु भनेको आफ्नो साथी परिछनका  र गाउँमा हली बस्न बाध्य परिवारका सन्तानले नयाँ पेसा अँगालून्, उनीहरूको जीवन शैली परिवर्तन होस् भन्ने धारणा राख्नु हो । उसको यो अभिव्यक्तिले परम्परादेखि चल्दै आएको हली प्रथाको अन्त्य होस् र नयाँ परम्पराको थालनी होस् भन्ने अभिव्यक्ति हो । कृष्णमा यस्तो अनुभूतिको संरचना निर्माण भएका कारण कृष्ण वैकल्पिक वा अधीनस्त पिँढी हो ।

गाउँको माया कथाको मुख्य पात्र कृष्ण पढेलेखेको छ । उसमा गाउँप्रति  र निम्न वर्गीय गाउँले प्रति हेर्ने दृष्टिकोण फराकिलो छ । उसमा समाज परिवर्तको क्रान्ति चेत छ , जुन कुरा कृष्णले बताएको तलको उद्धरणबाट प्रष्ट हुन्छ :

बाटाभरि आँखामा गाउँ नै सलबलाइरह्यो (बुधना, परिछन, रामदरस, बखतबहादुर, कान्छो भाइ, आमा, बा, घर, छिमेक, टोल र गाउँ, सुल्ताना डाँकुको  नौट्ङ्की, महावीरजीको झन्डामेला, हाटबजार....अनि यस्तै यस्तै थुप्रै घटनाहरू । एक समय गाउँका यी घटना, भिडभाड, चहलपहलहरुको म प्रत्यक्षदर्शी थिएँ  । त्यति मात्र होइन् , म पनि तिनमै थिएँ । अहिले आएर ती सबको पृथकताबोध कता कता च्वास बिझाउँछ (आफैलाई । गाउँमा बस्न नपाउनुको पीडाबोध हलक्क मौलिन्छ छातीभरि । अस्ति भर्खर मात्र भाइले चिठी लेखेथ्यो , ‘दाजु! अचेल त परिछनको टोलमा बेलुकी बेलुकी ‘रबिनहुड’ को नाटक रिहर्सल गर्दै छन् ।’  आहा! चिठी पढेर कति खुसी भएथेँ ....चिठी पढिसकेपछि जीवनमा मैले लगभग पहिलो पटक बोध गरेँ(हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन् । हाम्रो गाउँ पनि  केही हो र केही हुन सक्छ र यही ‘केही हुनु’नै मेरा लागि अथवा हाम्रा लागि माने म, बुधना,परिछन र बखतबहादुरका हकमा जीवन खुल्दथ्यो अर्थात् जीवनको , बाँच्नुको  माने लाग्थ्यो ” (पृ. १२) ।

माथि उल्लेखित अभिव्यक्ति सहरबाट गाउँ फर्कदा कृष्णले बाल्यकालीन कुरालाई  स्मरण गर्दै आफ्ना विचार व्यक्त गरेको छ । गाउँमा हुने विभिन्न घटनाका रमिते भएर हेरिन्थ्यो तर अहिले ती कुरा सम्झदा  मनमा च्वास बिझाउँछ भन्नुले कृष्ण  चेतनागत रुपमा परिपक्व भएको  छ भन्ने कुरा प्रष्ट हुन्छ । पहिले जे हेरे पनि रमिते हुने कुरालाई अहिले विश्लेषण गरेर हेर्न सक्ने भएकै कारण कृष्णमा पहिले हेरिएका नौटङ्की अहिले  च्वास बिझाउँने भएका छन् । विचार परिवर्तनकै कारण कृष्णमा नयाँ परम्पराको सङ्केत देखिएको छ ।

समयसँगै गाउँ पनि परिर्वन भएको अर्थात् परिछनको टोलमा ‘रबिन–हुड’ को नाटक रिहर्सल हुँदै छ भन्ने कुरा सुनेर कृष्णले खुसीको अनुभूति गरेको छ । मानिसले आफ्नो जीवन बोध गर्न पाएकोमा कृष्ण खुसी छ ।  कृष्णले गाउँका निम्न वर्गीय व्यक्तिले पनि जीवन बुझ्दै छन् भन्ने कुरा व्यक्त गर्नुले  कृष्णले  नयाँ परम्परा अर्थात् जागरण युगको पहल गरेको छ ।

 केही हुनु’ नै मेरा लागि अथवा हाम्रा लागि माने म, बुधना, परिछन  र बखतबहादुरका हकमा जीवन खुल्दथ्यो अर्थात् जीवनको , बाँच्नुको माने लाग्थ्यो भन्ने अभिव्यक्तिबाट कृष्णमा भएको तत्तकालीन सामाजिक संस्कृतिलाई प्रष्ट पार्दछ । प्रभूत्वशाली पिँढीको दबाबका कारण कृष्ण, बुधना, परिछन र बखतबहादुरमा दबाब र  तनाबको अवस्था सिर्जना भएको र स्वतन्त्र रूपले जीवन जीउन नपाएको कुरा पनि माथिको अभिव्यक्तिमा उल्लेख गरिएको छ । कृष्णमा सबैले स्वत्रन्त्र रुपमा बाँच्न , जीवन बुझ्न र ज्ञान लिन  पाउनुपर्छ भन्ने अभिव्यक्ति उल्लेख हुनुले कृष्णले नयाँ संस्कृतिको स्थापनाका लागि पहल गरेको छ । त्यस्तै गाउँमा गरिबका पाखुरीले नै गाउँको अस्तित्व बचाएको हो भन्दै कृष्णले परिछनलाई उत्साह र ढाडस दिँदै भन्छ परिछन ! यसो भनेर किन मलाई लज्जित पाछौ ।  गाउँ तिमीहरूकै हो । तिमीहरूकै हँसिया, खुर्पी, कोदालो  र पाखुरीका बलमा गाउँ बाँचेको छ , गाउँका इज्जत भनेका तिमीहरू  नै हौ । तिमीहरूकै आडमा गाउँ अभिमानी भएको छ । तिम्रो पाखुरीले यो खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त......पृ १५!

 

 परिछनले कृष्णलाई मालिकहरूसँगको सङ्घर्ष भइरहेको बताउदै कृष्णलाई गाउँमा नै बस्न आग्रह गर्छ । कृष्ण भएमा क्रान्ति सफल हुने आडभरोसा मिल्ने कुरा परिछनले बताउँदा कृष्णले परिछन तथा निम्न वर्गको पक्षधर भई यो गाउँ तिमीहरूकै हो ,गाउँको इज्जत तिमीहरूबाट  नै बाँचेको छ भन्दै परिछनलाई जबाफ दिएको    । श्रमजीवी, मेहेनती र इन्मादार परिछन र परिछन जस्ता निम्न वर्गीय पात्रहरूको पक्षमा रहेर दिएको कृष्णको यो अभिव्यक्ति प्रभूत्वशाली पिँढी विरुद्धको आवाज हो । यस अभिव्यक्तिले हँसिया, खुर्पी,कोदालो र पाखुरीका बलले गाउँमा दिएको योगदानको श्रेय गरिब तथा निम्न वर्गलाई दिनुपर्छ भन्ने नयाँ परम्पराको दृष्टिकोण राखेकाले ‘गाउँको माया’ कथाको पात्र कृष्ण वैकल्पिक वा अधीनस्त पिँढी हो ।

उदीयमान पिँढी :

 

उदीयमान पिँढी समाजमा स्थापित प्रभूत्वशाली पिँढीका मूल्य, मान्यता र सिद्धान्तका विमतिमा हुन्छ ।  प्रभूत्वशाली पिँढीको मूल्य , मान्याताका विमतिका कारण नै  उदीयमान पिँढीमा दबाब र तनाबको स्थिति आउँछ । गाउँको माया कथामा मालिकहरूको दबाब र तनाबका कारण परिछनमा आफ्ना अधिकारका लागि लड्नुपर्छ भन्ने अनुभूति भएको छ । यसै कारण परिछनले  उदीयमान पिँढीको प्रतिनिधित्व गरेको छ ।

नेपाली समाज लिङ्ग, जाति , धर्म, क्षेत्रका साथै वर्ग बीचको द्वन्द्वबाट सञ्चालित छ । यस्ता संस्कृति अर्थव्यवस्थालाई आधार बनाएर निर्माण भएका हुन्छन् ।  ‘ गाउँको माया’कथामा यस्तै आर्थिकरूपमा विपन्न वर्गलाई आर्थिक रुपमा सम्पन्न मालिकहरूले दास बनाएको र उक्त व्यवस्थाको विरुद्धमा उदीयमान पिँढीको उदय भएको कुरा प्रस्तुत गरिएको छ ।

मालिकहरूले परिछन जस्ता गरिबहरूलाई थोरै ज्याला दिएर काम लगाएका छन् । आफ्ना अनुकूलमा चल्न बाध्य बनाएका छन् । गरिबहरुलाई पुस्तौँ पुस्ता दास बनाएका छन् । यस्ता शोषक वर्गबाट आफू शोषण हुँदा निम्न वर्गमा दबाब र तनाब सिर्जना भई आफ्ना अधिकारका लागि लड्नुपर्छ भन्ने अनुभूतिको संरचना निर्माण भएको छ ।  मालिकहरूले आफ्नो श्रम शोषण गरेको, अन्याय अत्याचार गरेको , दबाब र तनाब दिएको कारण परिछनमा पनि अन्याय अत्याचार सहनुहुन्न यसका विरुद्धमा जुट्नुपर्छ भन्ने अनुभूतिको संरचना निर्माण भएको छ । परिछन लेखपढ नगरेको व्यक्ति भए पनि ऊभित्रको विचार र चेतनाको तह उच्च देखिन्छ । लेखपढ गरेको कृष्णलाई परिछनले भनेका कुराबाट उसमा सामाजिक क्रान्ति चेत भर्भराइरहेको प्रष्ट हुन्छ ।

परिछनको नेतृत्वमा  ‘रबिन–हुड’ को नाटक रिहर्सल हुनु भनेको आफ्नो जीवन र  बाहिरी संसार बुझ्ने प्रयत्न गर्नु हो अर्थात् परिछन र परिछनजस्ता विपन्न वर्गले पनि आफ्ना इच्छाअनुसार मनोरञ्जन प्राप्त गर्नु , बाहिरी वातावरणको ज्ञान लिने काम गर्नुले उनीहरूमा आफ्नो जीवनप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको पाइन्छ । त्यस्तै मालिकहरूका इच्छाअनुसार चल्नुपर्ने , उनीहरूकै अधीनमा रहनुपर्ने बाध्यतामा रहेका परिछन र हली  बस्न बाध्य गाउँलेहरूका मनमा मालिकहरूको ज्यादती, दबाब र तनाबका कारण यति धेरै तनाब र दबाब सहन हुँदैन भन्ने अनुभूतिको संरचना निर्माण भएको छ । यो नयाँ परम्परा आउने सङ्केत हो ।

रोपाइँको समयमा चार किलो धान बनी अर्थात् ज्यालाका विषयलाई लिएर तीन दिनसम्म परिछन र हलीगोठाला गाउँलेहरूले हड्ताल गर्नु परम्परागत रुपमा जरो गाडेर रहेको गाउँको सामन्ती सत्तालाई दिएको चुनौती हो । सामन्ती , शोषकहरूको शासनप्रति गरिएका ठाडो बिरोध हो । यस घटनालाई हेर्दा परिछन र दास बन्न बाध्य भएका गाउँलेहरू यस कथाका उदीयमान पिँढी हुन् । मालिकहरूको व्यवहारमा तनाब र दबाब भएका कारण उनीहरूमा विद्रोही अनुभूतिको संरचना निर्माण भएको छ ।

हडतालको नेतृत्व लिएका फेकन र शनिचरले मालिकहरूले देखाएको चार चार मन धानको लोभमा परेर मालिकहरूकै पक्षमा लागेकाले  परिछनहरूको माग पूरा हुन सकेन । उनीहरूको एकता टुट्यो । उनीहरूले नराम्रो धक्का सहनुपर्‍यो । यसै कारण  परिछन र दमित गाउँलेहरूको समूहले धोकेबाज फेकन र शनिचरलाई आफ्नो समूहबाट बाहिर निकाल्दिए । फेकन र शनिचरको धोकाका कारण परिछन र गाउँलेहरूमा तनाबको स्थिति पैदा भयो । उनीहरूले हिम्मत भने हारेनन् । उनीहरूमा मालिकहरूको शोषणका विरुद्ध पुनः लड्ने , आफ्नो अधिकार लडेर लिनुका साथै आफ्नो श्रमको मूल्य लिने योजना बनाए । यसरी  उनीहरूले परम्परागत संस्कृतिको रेखा तोड्दै नयाँ संस्कृतिको लागि सङ्घर्ष गरेका छन् ।

हिम्मत त किन हारिन्थ्यो र! अरे, एक साल भएन त अर्को साल कहाँ जाला! जब उतर गए रण पे तो पिछे हटना क्योँ ? (पृ।१५)” भन्ने परिछनको  यो अभिव्यक्तिबाट आफ्नो अधिकारका लागि हिम्मत नहारि लड्ने र पछि नहट्ने कुरा प्रष्ट पारिएको  छ । यसले पनि परिछनमा समाज परिवर्तनको उत्कट चाह छ भन्ने कुरा स्पष्ट हुन्छ । परिछन र परिछन जस्तै पिडित गाउँलेहरू मालिकहरूबाट दबाब र तनाबको अवस्थामा पुग्दा उनीहरूमा  समाज परिवर्तको अनुभूतिको संरचना निर्माण भएको छ । नयाँ चेतना जागृत भएको छ । त्यसैले यस कथामा परिछन र निम्नवर्गीय गाउँलेहरू उदीयमान पिँढी हुन् ।

 

निष्कर्ष :

गाउँको माया कथामा परिछन र परिछन जस्ता निम्न वर्गीय गाउँलेले भोगेका दबाब र तनावजन्य जीवनदशा र त्यस बिचका विशिष्ट अनुभूतिलाई हेर्दा पिँढीगत अनुभूतिको संरचना निकै सशक्त ढङ्गले व्यक्त भएको देखिन्छ । प्रभुत्वशाली पिँढीको सामाजिक आर्थिक आधिपत्य र त्यसको प्रभाव बेहोर्न बाध्य विपन्न समुदायको सङ्घर्षशील जीवन अनि त्यसलाई बदल्ने वा प्रभुत्वशालीको आधिपत्यबाट मुक्ति पाउने चाहना र प्रयासका बिचको दबाब र तनाब पूर्ण सम्बन्धबाट विशिष्ट प्रकारको अनुभूतिको संरचना निर्माण भएको छ । गाउँको माया कथामा दबाब र तनावको व्यवस्थापन वा समाधानका लागि वैकल्पिक संस्कृतिको निर्माणमा कृष्ण र परिछन प्रयासरत देखिन्छन् । तर संस्कृतिको पूर्ण निर्माण भने भइसकेको स्थिति छैन । मालिकहरूले डिभाइड एण्ड रुल लगाएर भए पनि परिछनहरूको शक्तिलाई फुटाएर आफ्नो आधीपत्य कायमै राखेका छन्  तर परिछन पनि हारेको अवस्था चाहिँ छैन । ऊ आफ्नो अधिकारका लागि वा दबाब र तनाबको स्थितिबाट मुक्त हुने बाटो खोजिरहेको छ । सङ्घर्षको योजना बनाइरहेको छ । कृष्णको पनि समर्थन पाएको परिछनमा वैकल्पिक संस्कृति निर्माणका लागि प्रभूत्वशाली विरुद्धको नाटक लेख्न कृष्णलाई आदेश दिएको छ । जसले सामन्ती परम्पराको अवज्ञा र उदात्त संस्कृतिको स्थापनामा सहयोग पुग्ने आशा परिछनमा छ । आफ्नो खेती नभएका भूमिहीन परिछनहरू अरुको हली बसेर परिवारको पेट पाल्न बाध्य छन् । जमीनदार  सामन्तहरुको उत्पीडनमा बाँच्न विवश निम्न वर्गीय परिछन र परिछनको समुदायले गरेको सङ्घर्षले नयाँ संस्कृतिको निर्माणमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यस लेखमा प्रभूत्वशाली पिँढी, वैकल्पिक वा अधीनस्त पिँढी र उदीयमान पिँढी गरी तिनै पक्षका भूमिकालाई उल्लेख गरिएको छ । प्रभुत्वशाली पिँढीको दबाब र तनाबका कारण उदीयमान पिँढीमा नयाँ संस्कारको उदय हुने अर्थात् अन्यायको अन्त्य जसरी पनि हुन्छ भन्ने कुराको निष्कर्ष यस अध्ययनबाट  प्राप्त भएको छ । 

 

सन्दर्भग्रन्थ सूची :

 

पाण्डेय, मैनजर “रेमन्ड विलियम्सका साहित्यका समाजशास्त्र”साहित्य के समाजशास्त्र की भूमिका, पृ.१६१–१६० ।

पाण्डेय, ताराकान्त (२०७३), माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाज।ललितपुर : साझा प्रकाशन ।

भण्डारी, खगेश्वर (२०७८)।‘गाउँको माया’कथामा वर्ग सङ्घर्ष’ इच्छुक। पूर्णाङ्क ८, वर्ष ८, असोज , पृ.७३–८३ ।


Post a Comment

0 Comments