गन्तव्य
म बुझ्न खोज्छु,
उसका आँखाका आशाहरू
असङ्ख्य वेदनाका गाथाहरू
मलाई थाहा छ्रैन,
म कतिको उसलाई पढ्न सक्छु
मलाई लाग्छ उसको आँखाले
केही भन्न खोजे झैँ
प्रत्येक शिक्षिकामा ऊ आमा खोज्छ,
शिक्षकको हात समाउँदा उसले बुवाको स्नेह भेट्छ ।
बर्खामा असिनाले चुटेर बगेको
भेल बाडी झैं
उसको बुबाले बगाएको पसिनाले
ऊ आएर यस विद्यालयमा
कतै टोलाइरहेको छ,
कसैले बोलाउने आशामा
कसैलाई बुझ्ने भावमा ।
निरन्तर बुझ्ने र बुझाउने प्रयासमा
लागेका हामी,
थाहा छैन कतिको सफल भयौँ
या असफल,
छैन पहिले झैँ रबाफ उसँग,
भनौँ के?
सम्झाऊँ कसरी ?
छैन यसको जवाफ मसँग ।
कारण असङ्ख्य होलान्
अनि मौनता पनि,
प्रत्येक दिन झोलाको भारसँगै
ऊ भासिएको छ,
चाहेर होस् या नचाहेर
यस विद्यालयसँग ऊ गाँसिएको छ ।
म ढुक्क छु,
एकदिन उदाएको सूर्यको प्रकाशझैँ
ऊ आफैँमा उदाउने छ ,
यहि हो मेरो संसार, कर्तव्य र
जिम्मेवारी भनि
उसले आफ्नो मन बुझाउने छ ।
ऊ कुद्छ, नसके हिँड्छ
त्यो पनि नसके घस्रन्छ
तर ऊ गन्तव्यमा पक्कै पुग्छ,
त्यो काँधको भार कतै बिसाएर,
मनमा शिक्षकप्रति माया मिसाएर,
मलाई आशा छ,
ऊ उडेर भएपनि पुग्नेछ
ऊ आफ्नो निर्धारित गन्तव्यमा
पक्कै पुग्नेछ ।
0 Comments