उहिलेका कुरा
सुमित्रा भूर्तेल
नेपाली विभाग
पुस्तान्तर भन्ने कुरा बडा गजबको कुरा रहेछ। प्रत्येक नयाँ पुस्ताले पुरानो पुस्तालाई म्याद गुज्रिएको (outdated) देख्ने र प्रत्येक पुरानो पुस्ताले नयाँ पुस्तालाई अपरिपक्व (immature) देख्ने सायद पुस्तान्तरको मुख्य विशेषता, कारण, र समस्या हो । त्यसैले त एक पुस्ताको कुरा अर्कोले चित्त नबुझाउदो रहेछ । भन्न त भनिन्छ नि आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको, तर हिजोआज आगो ताप्नुको सट्टा हिटर ताप्ने जमाना आएर होला सायद, बुढाको कुरा सुन्न कसैले मन गर्दैन । म त मुढाको आगो ताप्ने पुस्ताकी परेर होला, बुढाका कुरा धेरै मन पर्ने। फेरि नझुक्किनुस् है, बुढाका कुरा मन पर्ने भनेको श्रीमानका कुरा भनेको होइन नि ! बुढाबुढिका कुरा भनेको ।
म आँफूलाई आफैँले धेरै भाग्यमानी ठान्छु किनकि म मेरी हजुरआमाको काखमा हुर्कने सौभाग्य पाएँ । कुरा गर्दै जाँदा हजुरआमा भन्नुहुन्थ्यो – “हाम्रा पालाका त कुरै बेग्लै थिए।” यस्तै बेग्लै कथाहरु सुन्दै हुर्केकी म, मैले उहिलेका कुरा थोरै भए पनि सुन्ने, सिक्ने र ती कुराहरुलाई कल्पनामा अनुभव गर्ने अवसर पाएँ । तर यो अवसर धेरैलाई मिल्दैन ।
मेरी हजुरआमा खुबै बोलक्कड हुनुहुन्थ्यो । मात्रै एक जना सुन्ने मान्छे हुनुपर्यो, अनि आउँथे उहाँका कथा श्रृङ्खला । त्यसैले त म एक्लै भएँ भने, पढ्न अल्छी लाग्यो भने, हजुरआमासँगै बस्थें । उहाँलाई नै सुन्थेँ। उहाँ बोल्दै जानुहुन्थ्यो मैले सुन्दै जान्थेँ । कहिलेकाहीँ सुनेको नाटक मात्रै गर्दै अँ अँ भनिदिन्थेँ । मैले कति कुरा सुनें होला, कतिमा ध्यानै दिइन होला ।
अहिले आएर मलाई पछुतो लाग्छ मैले कति धेरै कुरा सुन्न छुटाएँछु, सोध्न छुटाएँछु। अहिले मलाई पटकपटक लाग्छ, आज मेरी हजुरआमा हुनुभएकी भए मैले कति धेरै कुरा सोध्न पाउँथेँ होला। जब जब पुराना संस्कार, परम्परा, जीवनशैलिसँग सम्बन्धित कुराहरू प्रश्न बनेर मेरा अगाडि उभिन्छन् अनि मलाई हजुरआमाको याद आउँछ । महाभारतमा धृतराष्ट्रले सोध्ने र सञ्जयले जवाफ दिने गरेजस्तै मैले कति जीवनका असजिला अध्यायहरू उहाँलाई सुनेर हल गर्थें होला भन्ने लागिरहन्छ । त्यस्तैगरि, हिजोआज जब म मेरा विद्यार्थीहरूलाई जीवनसँग सम्बन्धित सामान्य अलमलमा देख्छु, अनि मलाई हजुरआमाको याद आउँछ। मलाई लाग्छ मेरी हजुरआमासँगको एक क्षण यी विद्यार्थीहरुसँग बाँड्न पाए।
हुनत अहिलेका बालबालिकाहरू जुन सुविधामा छन् ती सुविधा हाम्रा पाला थिएनन् जरूर। तर, ती सबै सुविधाहरूलाई पछि पार्ने मेरी हजुरआमा जस्ता ज्ञानकोश थिए नि हामीसँग । उहाँहरूसँग जीवन अनुभव थियो र थिए सङ्घर्षका सयौं कथाहरू । पुरानो पुस्तासँग रहेका ती सङ्घर्षका कथाहरू नयाँ पुस्ताका लागि कति ऊर्जास्रोत बन्दा हुन। मेरी हजुरआमा म बिरामी हुँदा मेरा लागि डाक्टर हुनुहुन्थ्यो । उहाँले सुझाएका बेसारपानी, मेथि पड्काएको तेल, आदि जस्ता घरेलु उपाए र उहाँका ढाडसयुक्त शब्दहरू मेरा मानसपटलमा र जीवनका भोगाईमा आजपनि दौडिरहन्छन् । अनि मैले मेरी हजुरआमालाई कहिले वैद्य, कहिले डाक्टर त कहिले उत्प्रेरक वक्ताका रुपमा पच्छ्याई रहन्छु ।
तर, समय पदचापसँगै सायद आजको पुस्तालाई हामीले यी कुरा सिकाउन सकेनौं होला। आज पुरानो पुस्ता धेरै घरमा अपहेलित छ। बजारमा पाइने हजुरआमाका कथाहरू खोजी खोजी पढ्ने हाम्रा नयाँ पुस्तालाई घरमा भएका हजुरबुवा, हजुरआमासँग सोधी सोधी सुन्ने बानी बसाल्न सके ज्ञान आफ्नै घरमा मिल्थ्यो होला नि। सँगसँगै परिवारमा माया ममता र स्नेह बढ्थ्यो र कति खुसी हुन्थे होला हाम्रा परिवार, हाम्रा समाज । हामी साना परिवार एकल परिवारमा रम्ने भएर, पुरानो पुस्तालाई म्याद गुज्रिएको देख्ने भएर, अनि नयाँ पुस्तालाई मोवाइल मै भुलाएर बर्वाद पार्यौ कि क्या हो?
हुनत मानिसका सुख दुःख सापेक्षिक कुरा रहेछन् । बिगत र बर्तमान तुलना गरी हेर्दा अहिलेका मानिसहरु सुखी छन्, सुविधा सम्पन्न छन् भन्ने भान हुन्छ। तर कहिलेकाहि हजुरलाई लागदैन - कुनै कुरा हेर्दा त हाम्रा बालापन नै धेरै सुखमय थिए? त्यसैले, उहिलेका कुरा खुइलेर गए नभनौं, उहिलेका कुरा भित्र रहेका सामर्थ्यको पहिचान गरौं ।
0 Comments