प्रगतिशील शिक्षा
दुईदिन अघि एक शिक्षकले गुनासो लिएर आउनुभो "सर विधार्थीहरु कक्षाकोठामा बस्नै मनपराउदैनन्, विषयवस्तुमा ध्याननै दिदैनन्, पिरियड भरि मरिमरि करायो कापीमा लेख्न मान्दैनन्, परीक्षामा लेख्दै लेख्दैनन् अनि कक्षाकार्य र गृहकार्य पनि भनेको समयमा वुझाउँदैनन्, म त हैरान भएँ।" अनि समय समयमा अभिभावकहरु पनि गुनासो गर्नुहुन्छ, " मेरो बाबुनानीले पढाईमा राम्रो गर्न सकेनन्, रिजल्ट त पहिलाको भन्दा झन बिग्रियो लौन सर अलि ख्याल गरिदिनु पर्यो।" आजकल नेपालका प्रायः विधालयहरुमा सामान्यतया यस्तै यस्तै गुनासो सुनिने गरिन्छ।
यी र यस्तै गुनासो र समस्याहरुको कारण र निराकरणको उपाय सुझाउने हेतुले खोज गर्दा मैले अहिले संसारभर शैक्षिक रुपमा विकशित देशहरुमा प्रचलित रहेको र नेपालमा पनि विस्तारै अभ्यासमा आईरहेको र शिक्षा क्षेत्रमा वहस र छलफलमा रहेको प्रगतिशील शिक्षा (Progessive Education) को बारेमा फेला पारेका तथ्यहरु प्रस्तुत गर्ने जमर्को गरेको छु।
परम्परागत सिकाई घोकाईमा आधारित सिकाई हो जसमा शिक्षकलाई सर्वेसर्वा मानिन्छ। यस्तो सिकाईमा विधालयले तयार पारेको निस्चित कार्यतालिकामा तोकिएको पाठ्यक्रम र पाठ्यवस्तुलाई हु-बहु रुपमा शिक्षकले पढाउने, विधार्थीले घोक्ने र कण्ठ पार्ने काम गरिन्छ। विधालयमा भएका क्रियाकलापहरुलाई पालना गर्ने, शिक्षकले भनेको मान्ने र तोकिएको कुरा मात्रै घोकेर परिक्षामा उत्कृट नतिजा ल्याउने विधार्थीमात्रै अब्बल ठहरिन्छ। यसमा शैक्षणिक क्रियाकलापको ताल्चा साँचो सबै शिक्षकको अधिनमा रहन्छ।
परम्परावादी सिकाई प्रक्रियाको ठिक विपरित २०औं शताब्दिको सुरुवात तिर प्रगतिशिल शिक्षा (Progressive Education) अवधारणा अगाडि आएको पाईन्छ। यो सिद्दान्तका प्रदिपादक विश्व प्रसिद्ध शिक्षाविद, दार्शनिक तथा मनोविद् 'जोन डिभे' (John Deway) हुन्। सिकाईलाई कक्षाकोठाको साँघुरो घेरामा मात्र सिमित नराखी सिकारुहरुको इच्छा र चाहना अनुसार आफैँ अनुभव गरेर, प्रयोग गरेर व्यवहारिक सिपको विकासमा जोड दिनु यसको मुख्य उदेश्य रहेको छ। यो सिकाईमा शिक्षक सहजकर्ता रहि सिकारुलाई सिक्न प्रेरित गर्ने र सिकेका कुराहरुलाई सिपमा रुपान्तरण गर्न अनि व्यवहारमा लागु गर्न सहयोगीको भूमिका रहन्छ।
प्रगतिशील शिक्षाले विशेष गरि 'आफै गरेर सिक्ने' (Learning by doing), थिममा आधारित शिक्षण सिकाई, सोच्न सक्ने र समस्या समाधान गर्न सक्ने, समूहमा काम गर्ने बानीहरुको विकासमा जोड दिएको हुन्छ। यसका साथसाथै सामाजिक सिपहरुको विकास, सिकाईलाई सिपमा परिणत गर्ने क्षमताको विकास, सहकार्यात्मक सिकाई पनि यसै भित्र पर्दछन्। प्रजातान्त्रिक पद्दतिको शिक्षाको परिकल्पना गरेको आजको युग सुहाउँदो यो सिकाईमा सिकारुले आफ्नो इच्छा र चाहना अनुरुपका स्व-स्फुर्त रुपमा सिकाई प्रक्रियामा भाग लिन पाउदछन्। सिकाई पश्चात सिकारुमा सामाजिक उत्तर-दायित्वको वोध, समाजमा हुने गरेका विभिन्न सामाजिक र साँस्कृतिक क्रियाकलापहरुलाई परियोजना कार्यको रुपमा सिकारुलाई प्रत्यक्ष रुपमा संलग्न गराई जीवन्त सिकाईको अवसर प्रदान गर्ने कुराको वकालत पनि यसले गर्दछ।
कोरा किताबी सिकाईलाई निरुत्साहित गरी सिकारुको परिवेशमा उपलब्ध स्रोत र साधनलाई मुख्य सिकाईको साधनको रुपमा प्रयोग गरि जीवन्त सिकाई हुने कुराको सुनिश्चता प्रगतिशील शिक्षाले गर्दछ। सिकारुले सिकेको सम्पुर्ण सिपहरुलाई मूल्यांकन गरी कमीकमजोरीको पहिचानबाट पुनः सिक्ने मौका पनि यसले प्रदान गर्दछ। जसको निम्ति मूल्यांकनलाई पनि सिकाईको महत्वपूर्ण साधनको रुपमा लिईन्छ। नेपालको वर्तमान विधालय तहको पाठ्यक्रमले पनि यिनै कुराहरुमा जोड दिएको पाइन्छ।
प्रगतिशील शिक्षाले मूलतः सिकारुमा २१ औं शताब्दिको सिपहरुको विकासमा जोड दिन्छ। विश्व परिवेश सुहाउँदो मानव संसाधन जसले जिम्मेवार भई जुनसुकै ठाउँमा पनि आफूलाई अब्बल सावित गर्न सकोस भन्ने कुरामा ध्यान दिएको हुन्छ। यसका लागि समालोचनात्मक र गहन सोच (critical thinking), सहकार्य (collaboration), संचार सिप (communication), सिर्जनात्मकता र नविन सोच (creativity and innovation), स्वावलम्बी र आत्म केन्द्रित (self-direction and independence) र सिकाईमा प्रविधिको प्रयोग (use of technology) आदि जस्ता सिपहरु आवश्यक पर्दछ। हाम्रा दैनिक शिक्षण सिकाई क्रियाकलापहरु खाली तोकिएको पाठ्यवस्तु सकाउनेमा मात्र केन्द्रित नभई प्रगतिशील शिक्षाको अवधारणा अनुरुप अगाडि वढाउन सके केही हदसम्म सिकाईको प्रभावकारीता सिकारुको चाहना अनुरुप हुन सक्दछ र शिक्षक र अभिभावकहरुको गुनासोको उचित समाधान पनि हुन सक्दछ।
हरिभक्त कार्की
शिक्षक-सामाजीक अध्ययन विभाग
संयोजक-जुनियर ब्लक (४-६)
शिक्षक-सामाजीक अध्ययन विभाग
संयोजक-जुनियर ब्लक (४-६)
0 Comments