भाषा शिक्षणका सामान्य सिद्धान्तहरू
भाषा शिक्षण भाषाको शिक्षण नभएर भाषिक सिपहरूको शिक्षण हो । भाषिक बोध र अभिव्यक्ति प्राप्तिका लागि के, कस्ता क्रियाकलाप, प्रक्रिया र पद्धति उपयोगी हुन्छन् भनी सुझाइएका उपायहरू नै भाषा शिक्षणका सिद्धान्तहरू हुन् । भाषा कसरी सिकाएमा शिक्षार्थीहरु आफ्नो गन्तव्यमा पुग्न सक्छन् भन्ने विषय सबैको चासोको हो । भाषालाई प्रभावकारी रूपमा शिक्षण गर्ने सन्दर्भमा सामाजिक, मानसिक तथा भाषातात्विक पक्षले पनि उत्तिकै भूमिका निर्वाह गरेक हुन्छन् । भाषा शिक्षण आफैमा जटिल काम भएकाले यसलाई सरल, सहज र स्वाभाविक बनाउन व्यवहारवादी र मनोवादीहरूले विभिन्न खोज र अनुसन्धान पनि गरिरहेका छन् । भाषालाई अधिकाधिक प्रभावकारी बनाउन सबै भाषा शिक्षकहरू लागिरहेका छन् तापनि भाषा शिक्षणलाई शिक्षणीय भाषाको सामाजिक महत्त्व, सिकाइ क्रम, भाषाको स्वरूप जस्ता विविध पक्षले प्रभाव पारेका हुन्छन् । भाषा शिक्षणलाई प्रभावकारी बनाउन र अपेक्षित उपलब्धि सहजताका साथ प्राप्त गर्न निम्नलिखित दृष्टिकोण तथा सिद्धान्तको उपयोग गर्न सकिन्छ ः
भाषा शिक्षणमा सैद्धान्तिक समस्याहरुलाई समाधान गर्ने उपायहरू ः
खाली व्याख्यान गरेर भाषा शिक्षण गर्ने प्रवृत्तिको शिक्षक स्वयम््ले अन्त्य गरेर विद्यार्थीलाई सकेसम्म अभ्यास र पुनरावृत्तिमा बढी जोड दिनुपर्छ ।
हालको अवस्थामा धेरै जसो विद्यालयका भाषा शिक्षकले दैनिक पाठयोजनालगायत कुनै पनि योजना निर्माण नगरी हचुवाको भरमा शिक्षण गर्ने परम्परा विद्यमान रहेकाले योजनाबद्ध रुपमा मात्र शिक्षण कार्य गरेमा शिक्षण सिकाइ कार्य बढी प्रभावकारी हुने देखिन्छ ।
विद्यालयका कक्षाकोठामा जातीय, लिङ्गीय, भाषिक, मानसिकजस्ता विविधता भएका विद्यार्थीहरु हुने भए पनि शिक्षकहरुले उनीहरुको वैयक्तिक भिन्नता र वैयक्तिकीकरणप्रति संवेदनशील र सचेत भएर शिक्षण गरेको अवस्था कमै मात्रमा पाइएको हुनाले यसतर्फ वर्तमान परिवेशमा बढी गम्भीर हुनुपर्ने देखिन्छ ।
अधिकांश विद्यालयका शिक्षकहरुले पाठ्यपुस्तकबाहेकका अन्य कुनै स्तरीय र उपयुक्त सामग्रीको उपयोग गरेको अवस्था न्यून नै देखिन्छ । यसका लागि विद्यार्थीको स्तरलाई मध्येनयर राखी उपयुक्त पाठ्य सामग्रीको व्यवस्थापन गरी शिक्षण कार्यमा यसको प्रयोग पक्षमा जोड दिनुपर्ने देखिन्छ ।
अझै पनि कतिपय विद्यालयहरुमा शिक्षकहरुले विद्यार्थीहरुको रुचि भए पनि र नभए पनि पाठ्यपुस्तक मात्रै पढाउने चलन छ । वास्तवमा पाठ्यपुस्तक र त्यसमा दिएका पाठहरु भाषिक सिप विकासका नमुना वा साधन मात्र हुन् । त्यसैले भाषा शिक्षकले विद्यार्थीहरुको रुचिअनुरुपका विविध प्रकृतिका रुचिपूर्ण सामग्रीको प्रयोग पक्षमा जोड दिनुपर्ने देखिन्छ ।
प्रायजसो विद्यालयमा भाषा शिक्षकहरुले व्याख्यान विधि वा शिक्षक केन्द्रित विधिलाई मात्र उपयोग गरेर विद्यार्थीहरुको आफँैले गरेर सिक्ने ीभबचलष्लन दथ मयष्लन वातावरणलाई कुण्ठित गराइएको अवस्था छ । यस समस्याको समाधानार्थ शिक्षकले विद्यार्थीलाई आफैले गरेर सिक्ने खुला वातावरण दिन शिक्षक केन्द्रित विधिहरु जस्तै छलफल, प्रश्नोत्तर, भूमिका अभिनय, संवादजस्ता क्रियाकलाप गराउनमा बढी जोड दिनुपर्ने देखिन्छ ।
भाषा शिक्षण गर्दा सामान्यतः शिक्षकहरु आफूले जानेको कुरा सकेसम्म कराएर आफ्नो व्यक्तिŒवलाई मात्र प्रकाशन गर्न चाहेको देखिन्छ । यसो गर्दा विद्यार्थीले आफैले जानेको, बुझेको भाषिक सिप, समझ र दक्षताले फल्ने, फुल्ने र फक्रने मौका नपाउने हुँदा प्रभावकारी भाषा शिक्षणका लागि शिक्षकले आफ्नो सिप प्रदर्शन गर्नुभन्दा विद्यार्थीकै भाषिक समझलाई बढी महत्व दिएर शिक्षण गर्नुृपर्ने ।
भाषा शिक्षणलाई प्रभावकारी बनाउन उपयोगमा ल्याउन सकिने के नै नयाँ विधि र सामग्रीको प्रयोग गर्नु पर्छ र भन्ने मानसिकता शिक्षकहरुमा अद्यापि छ । तर भाषा शिक्षणमा एउटैै विधिको प्रयोग नगरी यसमा र शैक्षिक सामग्रीमा विविधता ल्याउन सकेमा विद्यार्थीहरुमा शिक्षणप्रति रुचि र उत्प्रेरणा जाग्रित भइरहने हुँदा यस तर्फ शिक्षकहरुले विशेष जोड दिनुपर्ने देखिन्छ ।
भाषा शिक्षणको क्रममा भाषाका आधारभूत सिपहरु सुनाइ र बोलाइलाई कम महŒव दिई पढाइ र लेखाइलाई मात्र महŒव दिने कारणले गर्दा एकातिर सुनाइ र बोलाइ सिपको विकास हुँदैन नै र यसले पढाइ र लेखाइ सिप विकासमा पनि प्रत्यक्ष प्रभाव पारेको अवस्था छ । यसर्थ भाषा शिक्षकले भाषिक सिपहरुको शिक्षण गर्दा चारै सिपहरुको समानान्तर विकास हुने गरी क्रियाकलाप तर्जुमा गर्नुपर्दछ ।
भाषा शिक्षणको क्रममा धेरै विद्यालयहरुमा पुस्तकालयको व्यवस्था नभएको र पुस्तकालय भए पनि शिक्षकहरुले त्यसको उपयोग नगर्ने बानी देखिन्छ । यसर्थ शिक्षकहरुले भाषा शिक्षणको सन्दर्भमा जतिसक्दो बढी पूरक, सन्दर्भ तथा स्वाध्ययन सामग्रीहरुको उपयोग गरी शिक्षण गर्दा भाषिक सिपहरुको विकासमा तीव्रता हुने हुँदा यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
भाषिक सिप विकासका लागि भाषा शिक्षकले मात्र ध्यान दिनु पर्दछ । अरु शिक्षकको भूमिका हुँदैन भन्ने विद्यमान अवस्थालाई चिरफार गरी भाषा विकासमा सबै शिक्षकहरुलाई आआफ्नो विषयहरुमा समेत बोल्ने, पढ्ने र लेख्ने काममा समेत सुद्धता अपनाई दिन आग्रह गरी एकीकृत कार्यक्रमहरु सञ्चालन गर्न सकेमा भाषा सिकाइमा पक्कै पनि सबैतिरबाट प्रभावकारिता आउने हुँदा यसतर्फ भाषा शिक्षकले चासो दिई सहकर्मीहरुलाई पनि भाषिक सिप विकासको कार्यमा परिचालन गरिनु उपयुक्त देखिन्छ ।
माधव प्रसाद पराजुली
नेपाली विषय शिक्षक
सन्दर्भ ग्रन्थ सूची
अधिकारी, हेमाङ्गराज (२०६७). सामाजिक र प्रायोगिक भाषाविज्ञान. काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
पोखरेल, केशवराज, काफ्ले, उमेश र दाहाल,द्रोणराज (२०६९).नेपाली भाषा शिक्षण. काठमाडौँ ः क्याम्ब्रिज पब्लिकेशन प्रा.लि ।
लामिछाने, डा.यादवप्रकाश (२०६७).नेपाली भाषा शिक्षण.काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
0 Comments