उपयोगी पुस्तकहरू पढ्न प्रेरित गरौँ ( लक्ष्मण खनाल)

 उपयोगी पुस्तकहरू पढ्न प्रेरित गरौँ  














   लक्ष्मण खनाल

                                   सामाजिक अध्ययन बिभाग

                            

 

          

 जुन पुस्तकले तिमीलाई सबैभन्दा बढी सोच्नका लागि विवश गराउँछ, त्यो नै तिम्रा लागि बढी सहयोगी हुन्छ ।          

जवाहरलाल नेहरू

 पुस्तकको मूल्य एक बहुमूल्य रत्नभन्दा पनि अधिक हुन्छ, किनकि रत्नले बाहिरी चमक-दमक बढाउँछ जबकि पुस्तकले अन्तःकरण उज्ज्वल बनाउँछ ।

   महात्मा गान्धी

 पुस्तकप्रेमीहरू संसारमा सबैभन्दा धनी र अधिक खुसी हुन्छन् ।

                                                                                                             वनारसीदास चतुर्वेदी

 "म नरकमा पनि राम्रा पुस्तकको स्वागत गर्छु किनकि त्यसमा यस्तो शक्ति लुकेको हुन्छ जहाँ त्यो हुन्छ त्यहाँ नै स्वर्ग बन्छ ।”

लोकमान्य तिलक

 पाठ्यक्रम बाहेकका अन्य पुस्तकको अध्ययन गर्ने बानीले बालबालिकाहरूको ज्ञानको क्षितिज

फराकिलो हुने भएकाले उनीहरूको मानसिक स्तर औसत विद्यार्थीहरूको भन्दा माथि हुन्छ । सृजनात्मक शक्तिको विकास, समयको सदुपयोग, मानसिक रूपान्तरण, सकारात्मक सोचको विकास र जीवनमूल्यको पहिचानमा उपयोगी पुस्तकको अध्ययनले ठूलो भूमिका खेल्छ ।

 अतिरिक्त पुस्तक अध्ययन गर्ने बानीले जीवनमा कल्पनाशक्ति, आत्मविश्वास र आत्मगौरवको अकल्पनीय र चमत्कारपूर्ण विकास हुन्छ । पढ्ने बानीले एकातिर आन्तरिक शान्तिको विकास हुन्छ भने अर्कोतिर आत्मनियन्त्रण गर्ने शक्तिले जीवनलाई सकारात्मक बाटोतिर लग्छ ।

       किताब विशेष गरी मनोरञ्जनात्मक, ज्ञानमूलक र प्रेरक खालको हुनुपर्छ । बालबालिकाहरूले गरेका प्रगतिको रहस्य, प्रेरणादायी जीवनीले उनीहरूको बौद्धिक विकास त गराउँछ नै, अर्कातिर जीवनमा आइपर्ने हरेक चुनौतीलाई सामना गर्दै लक्ष्य प्राप्तिमा अडिग रहने आत्मबल पनि प्राप्त हुन्छ । खराब पुस्तक पढ्नु भनेको विषपान गर्नुसरह भएकाले जीवनलाई सार्थक मोडसम्म पुऱ्याउन जीवनोयपोगी पुस्तकहरू पढ्न प्रेरित गर्नुपर्छ । भनिन्छ असल पुस्तकको अध्ययनले नर्कलाई पनि स्वर्ग बनाउँछ ।

    संसारका महान् विचारक, कलाकार, राजनीतिज्ञ, दार्शनिक, विद्वान्‌का जीवनी हेौँ भने थाहा पाइन्छ कि उनीहरू पुस्तकको गहिरो अध्ययनले नै महान् व्यक्ति बनेका हुन् । जीवनको उचाइ प्राप्त गर्न उपयोगी पुस्तकको अध्ययन उनीहरूका लागि वरदान साबित भएको छ । जसरी शरीरलाई पुष्ट गर्न भोजनको आवश्यकता पर्छ त्यसै गरी मनमस्तिष्कको विकासका लागि पुस्तकको अध्ययनले सहयोग पुऱ्याउने भएकाले अभिभावकले आफ्‌ना सन्तानलाई उपयोगी पुस्तक पढ्न प्रेरित गर्नुपर्छ।

   धर्मग्रन्थ, नैतिक ग्रन्थ र व्यक्तित्व निर्माण सम्बन्धी पुस्तकले सकारात्मक  सोचको विकासमा ठूलो मद्दत पुऱ्याउँछ । यस्ता पुस्तकको अध्ययनले मानसिक सङ्कटका समयमा शान्ति प्रदान गर्छ र सामाजिक जीवनमा नैतिक मूल्यको महत्त्व प्रष्ट्याउँछ । संसारमा सबैभन्दा सस्तो अति मनोरञ्जनात्मक वस्तु पुस्तक बाहेक अरू कुनै पनि छैन । संसारका सबै पुस्तक समान महत्त्वका

हुँदैनन् । पुस्तकका प्रकारका बारेमा फ्रान्सिस वेकनको "कुनै पुस्तक चाख्नका लागि मात्र हुन्छन्, कुनै चबाउनका लागि तर थोरै पुस्तकचाहिँ निल्नका लागि हुन्छन्” भन्ने भनाइ महत्त्वपूर्ण रहेको छ । पछिल्ला खाले पुस्तकहरूले जीवनलाई सही मार्गदर्शन गर्छन् । पुस्तकको महत्त्वलाई दर्साउँदै कार्लाइल भन्छन्- 'पुस्तकको संग्रह नै आजको युगमा सबैभन्दा उत्तम विश्वविद्यालय हो'। त्यस्तै एउटा भनाइ छ, 'शास्त्र पढेर मानिस मूर्ख हुन्छ तर जो मान्छे शास्त्रअनुसार नै आचरण गर्छ त्यो नै विद्वान् हो ।' त्यस्तै पुस्तकको महत्त्वलाई दर्साउँदै मिल्टन भन्छन् 'एउटा असल पुस्तकमा जीवन दिने रगत र ओज हुन्छ जुन उपस्थित जीवनका निम्ति मात्र नभएर भविष्यका जीवनका लागि पनि हुन्छ ।'

   धेरै पुस्तक पढ्ने विद्यार्थी कुण्ठित हुनबाट बच्छ, कमजोर बालबालिका साहसी र नीति निपुण हुन्छन् । यसले त विद्यार्थीको मनमस्तिष्कमा ऊर्जा श्रिदिन्छ जसले सजिलै लक्ष्य प्राप्तिमा भूमिका खेल्छ । वास्तवमा पुस्तक अध्ययन यस्तो प्रकाशपुञ्ज जस्तो हो जसको किरणले घना अन्धकारलाई पनि प्रकाशवान् बनाउँछ ।

   हरेक अभिभावकले बालबालिकालाई उसको उमेर र क्षमताअनुसार पुस्तक र पत्रिका पढ्न प्रेरित गर्नुपर्छ जसले उनीहरूको मरुभूमिरूपी जीवनमा वसन्तरूपी हरियाली ल्याइदिन्छ ।

 

प्रेरणादायी भनाइहरू

 A good book is the best of friends, the same today and for ever                   - Tupper.

That is a good book which is opened with expectation and closed with profit        -A.B. Aloch.

 To read without reflecting is like eating without digesting                                            - E Burke.

To read well, that is to read true books in a true spirit, is a noble exercise                   - H. David.



Post a Comment

0 Comments