नारी हठ (सुमित्रा भुर्तेल, नेपाली विभाग)

 

नारी हठ

 

                  ✍️ सुमित्रा भुर्तेल

                         नेपाली विभाग

 

हामीले सुन्दै आएको कुरा हो ‘नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् ।’ कुनै एक बिना अर्को चल्न असम्भव प्राय छ । तर, पनि हाम्रो समाज अझै पनि पुरुष प्रधान नै छ । पुरुष प्रधान भएकोले होला नारीको स्थान पुरुष पछि नै राख्दै आएको पाइन्छ । पछिल्लो समयमा समाजको यो सोचमा परिवर्तन आउँदैछ । जतिनै जे भने पनि भनाई र गराईमा फरक त परिहाल्छ । नारी र पुरुषबिचका फरकहरु जैविक, मानसिक र सामाजिक तहमा बुझ्न सकिन्छ । समाजले सिकाएको तरिकाले फरक देखिन सक्छ तर क्षमता दुवैमा बराबर        हुन्छ । यी फरकहरु स्वभाविक भएपनि मूल्य, अधिकार र क्षमतामा नारी र पुरुष पृथक हुनन् तर समान महत्वका छन् 

 

धार्मिक आस्थाको दृष्टिले हेर्ने हो भने काली, भगवती, लक्ष्मी, सरस्वती, जीवित देवी कुमारी लगायत सबै नारीकै रुप हुन् । हिन्दू, बौद्ध धर्ममा पनि यी देवीहरूलाई पूजा गरिन्छ । हामी नारीलाई घरकी लक्ष्मीका रूपमा आदर पनि त गर्छौं । नेपाली समाजमा एउटा संस्कृत श्लोकले भने झैँ “यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता ।” अर्थात ‘जुन घरमा नारीको सम्मान हुन्छ, इज्जत गरिन्छ, त्यस घरमा देवताको बास हुन्छ’ भन्ने मान्यता पनि प्रचलनमा छ । देवीका रूपमा कुमारी, पञ्चकन्या, लक्ष्मी, भगवती र सरस्वतीको पूजा गरिन्छ । यहाँसम्म कि राष्ट्रियतालाई पनि नारी बोधक सम्बोधन ‘नेपाल आमा’ भनेर श्रद्धा प्रकट गरिन्छ ।

 

परन्तु, समाजमा नारीसँग जोडिने थुर्पै उपमाहरु नरीलाई कमजोर देखाउने वा होच्याउने खालका छन् । म आज यो लेखको माध्यमबाट एउटा प्रतिनिधी उदाहरणको चर्चा गर्दैछु । हजुरहरुले सुनिरहनु भएको शब्दावली “नारी हठ” प्रायः नकारात्मक रूपमा प्रयोग गरिन्छ। महिलाले आफ्नो विचारमा अडिग रहँदा, अन्यायको विरोधमा आवाज उजागर गर्दा वा आत्मसम्मानकालागि अघि सरेर बोल्दा   त्यसलाई हठ भनेर व्याख्या गर्ने प्रवृत्ति देखिन्छ । वास्तवमा नारी हठ जिद्दी होइन, यो त साहस,दृढता र आत्मविश्वासको परिचायक हो ।

 

नारीले भोग्दै आएका असमानता, विभेद र अन्यायका विरुद्ध उभिनु सजिलो काम होइन । त्यसैले, यस्तो अवस्थामा नारीले देखाउने अडानलाई हठ भनिनु अनुचित हुन्छ । शिक्षा, रोजगारी, अधिकार र स्वतन्त्रताको क्षेत्रमा आज नारीले प्राप्त गरेका उपलब्धिहरू यही अदम्य साहस कै परिणाम हुन् । यदि नारीहरू दृढ भएर उभिएका नभए, समाज अझै कति पछाडि नै रहन्थ्यो सायद ।

 

तर पनि, केही कुरा भनाई र गराई अनि सोचाइ र बोलीमा फरक पर्छ ।

अनि, किन नगरोस्  उसले हठ!

 

कुरा केहीवर्ष अघिको हो, मेरो बाबु दूधे-काखे बच्चै थियो । घरमा सत्यनारायणको पूजा कार्यक्रम थियो । घरमा सबैजना आआफ्नै तुनेलोमा व्यस्त हुनुहुन्थ्यो । पण्डितजी आइसक्नु भएको थियो, मन्दिरमा बसेर कुश काट्दै हुनुहुन्थ्यो, पूजाको लागि हामीहरु   तयारीमै खट्दै थियौँ । म भित्रबाहिर गर्दा, बाबु गन् गन् गर्दै अघिपछि गर्दैथियो । उसले धेरै दुःख दिन थालेपछि “कति जिद्दी गर्छौं है बाबु ? आमाले काम गर्दैछे भने पछि दुःखदिनु पर्छ है ?” बाबुलाई सम्झाउँदै मैले भने । मनमनै बच्चाले पनि कस्तो समयमा दुःख दिनुपर्छ भन्ने थाहा पाउछन् कि क्याहो भन्दै आफ्नो काममा लागेकी थिएँ ।

 

            मेरो सबैकुरा पण्डितजीले टाढाबाट भएपनि सुन्नु भएछ र मलाई एकछिन नियालेर हेर्नु भएछ । पण्डितजीले म तिर हेर्दै केही भन्न लाग्नु भयो भन्ने मैले बुझेँ । मलाई पण्डितजीले बाबुलाई सम्झाउन लाग्नु भयो भन्ने लाग्यो । उहाँको र मेरो एकछिन हेराहेर      भइरह्यो । पण्डितजी बोल्नुभयो, “ज्ञानीले त्यसै कहाँ भन्छन् र, जानेरै भने नि बाल हठ, नारी हठ, र राज हठका कुरा ।” म स्तब्ध भएँ । पण्डितजीको भनाई मेरो बाबुतिर मात्र लक्षित थियो या त म तिर पनि ? या त सम्पूर्ण नारी प्रति ? मलाई त लाग्यो बाबुको बाहानामा पण्डितजीको निशाना समस्त नारी तिरै थियो । हो, नारी हठ को कुरा समाजमा धेरै चल्छ । मैले पनि त यो कुरा आजमात्रै सुनेकी पक्कै होइन । गाउँका भेला, सम्मेलन, विवाह, व्रतबन्ध, लगायत सामाजिक जमघटमा यत्रतत्र सर्वत्र सुनिन्छन् नारी हठका कुरा।

अनि, के साँच्चै नै नारीहरु पुरुषहरु भन्दा हठी स्वभावकै हुन्छन् ?

 

सबै मानिस शारीरिक रूपमा एकै यौनिक विशेषताका भएपनि उनीहरूको बानी, व्यहोरा, आचरणमा असीम फरक हुन्छ । यी सबैकुरा हामीले जानेकै कुरा हो । सबै नारी समान हुँदैनन्, न त सबै पुरुष नै । कताकता हाम्रा धार्मिक दृष्टान्तहरू सम्झिन्छु जसले भन्छन् - नारी धर्ती हो, ऊ देवी हो । माया, सहनशीलता, र उदारताको अर्को रुप हो, उपमा हो नारी । अनि कुन नारीको कुरा गर्दै छौं त हामी ? हो, हाम्रै समाजले नारीलाई बोक्सी, अलच्छिनी, राक्षसी पानि त बनायो । मान्नुस् कि बोक्सी हुन्छ रे समाजका कति नारी यस्ता विविध आरोपमा तड्पेका छन् ? छ यसको तथ्याङ्क कसैसँग ?

अनि भन्छौँ - नारी कति हठी?

पुरुषहरु हठ बिनाका ? भो पुरुषका कुरा नगरौं ।

किन गर्छे नारीले हठ ?

हो, एउटी नारी हठी छ र त उसले आफ्नो अस्मिता जोगाउन सक्छे, आफ्नो बालबच्चा बचाउन सक्छे, आफ्नो सामाजिक प्रतिष्ठा फुलाउन सक्छे, र आफ्नो परिवारको आधार बनेर चौतारीको वर झैँ अटल रहन्छे। ऊ आफूले गर्नुपर्ने कुरा नतमस्तक भएर गर्छे र सहन्छे । त्यसैले त ऊ हठी हुन्छे ।

हो, साच्चै नै ‘नारी हठ’ भनेको अस्तित्वको र परिवर्तनको आधार रहेछ । यसले नारीलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रगतितर्फ लैजान मद्दत गर्दोरहेछ ।

त्यसैले, नारी हठमा सृजनशिलता खोजौँ । यस्तो समाज बनाऔँ कि  जसले नारी र पुरुषमा सद्भाव राखोस् र नारी हठमा नारी पाठ देखियोस् ।

 

Post a Comment

0 Comments