शिक्षामा सीप र प्रविधि: सपनादेखि सम्भावनासम्मको यात्रा (रेनुकला चापागाईं , सामाजिक विभाग)

 

शिक्षामा सीप र प्रविधि: सपनादेखि सम्भावनासम्मको यात्रा


 

                            








                                                                                                                  ✍️रेनुकला चापागाईं

                                                                                                                             सामाजिक विभाग

 

बिहानको चिसो हावासँगै विद्यालयतिर हिँडिरहेका साना पाइला केवल कक्षाकोठासम्म सीमित हुँदैनन्; ती पाइला भविष्यतर्फ बढिरहेका हुन्छन्। उनीहरूको आँखामा झल्किने सपना केवल व्यक्तिगत सफलता होइन, परिवारको आशा र राष्ट्रको आकांक्षा पनि हो। तर प्रश्न उठ्छ के हाम्रो शिक्षा ती सपनालाई पखेटा दिन सक्षम छ?

 

समय परिवर्तनशील छ। हिजो गुरुकुलमा मौखिक रूपमा हस्तान्तरण हुने ज्ञान आज डिजिटल पर्दामा चम्किरहेको छ। संसार एउटा सानो गाउँझैँ बनेको छ, जहाँ दूरीको अर्थ घट्दै गएको छ। प्रविधिले मानव जीवनलाई सहज, तीव्र र प्रभावकारी बनाएको छ तर केवल सैद्धान्तिक ज्ञानले अब जीवनको जटिल मोडहरू पार गर्न सकिँदैन; त्यसका लागि सीप, सिर्जनशीलता र प्रविधिको आवश्यक छ। आज हाम्रो समाजमा हजारौँ युवा प्रमाणपत्र बोकेर अवसरको खोजीमा भौँतारिरहेका छन्। डिग्री छ, तर आत्मविश्वास छैन; ज्ञान छ, तर प्रयोग गर्ने सीप छैन। यो अवस्था हाम्रो शिक्षाको ऐना जस्तै हो, जसले भित्रको कमजोरी देखाइरहेको छ। यदि शिक्षाले श्रमको सम्मान, कामको गरिमा र नवप्रवर्तनको साहस सिकाउन सकेन भने त्यो शिक्षा अधुरो रहन्छ।

 

प्रविधि आजको युगको शक्ति हो। कृत्रिम बुद्धिमत्ता, डिजिटल व्यवसाय, अनलाइन शिक्षाजस्ता माध्यमहरूले नयाँ संसारको ढोका खोलिरहेका छन्। तर प्रविधि केवल उपभोग गर्ने साधन होइन, निर्माण गर्ने अवसर पनि हो। हामीले आफ्ना बालबालिकालाई प्रयोगकर्ता मात्र होइन, सिर्जनाकर्ता बनाउनुपर्छ। कोडिङका साना अभ्यासदेखि अनुसन्धानका ठूला प्रयाससम्म यी सबैले भविष्यको बाटो कोर्छन्। तर सीप र प्रविधिको यात्रामा हामीले मानवताको हात छोड्नु हुँदैन। शिक्षा केवल दिमागलाई तीक्ष्ण बनाउने प्रक्रिया होइन; यो हृदयलाई संवेदनशील बनाउने साधना पनि हो। अनुशासन, सहकार्य, करुणा र जिम्मेवारी यी गुणले मात्र समाजलाई दीगो बनाउँछन्। प्रविधिले सुविधा दिन्छ, तर संस्कारले दिशा दिन्छ। जब दुवै एकसाथ अघि बढ्छन्, तब मात्र समृद्ध राष्ट्रको आधार तयार हुन्छ। हामीले कक्षाकोठालाई केवल परीक्षा दिने ठाउँ होइन, सम्भावना जन्माउने थलो बनाउनु पर्छ। जहाँ विद्यार्थीले गल्ती गर्न डराउँदैन, प्रश्न सोध्न हिच्किचाउँदैन, र नयाँ सोच प्रस्तुत गर्न पछि हट्दैन। शिक्षा त्यही बेला सार्थक हुन्छ, जब उसले विद्यार्थीलाई जीवनका चुनौतीसँग जुध्ने साहस दिन्छ।

 

अन्ततः, राष्ट्रको भविष्य कुनै नीति वा भाषणले मात्र बदलिँदैन; त्यो विद्यालयको एउटा सानो कक्षामा बसेको जिज्ञासु विद्यार्थीको मनबाट बदलिन्छ। यदि हामीले आज शिक्षामा सीप र प्रविधिको उज्यालो बाल्न सक्यौँ भने, भोलि त्यो उज्यालो घर–घरमा फैलिनेछ।

 

सायद कुनै दुर्गम गाउँको सानो बालक, जसले आज पहिलोपटक कम्प्युटर छोएको छ, भोलि विश्वलाई नयाँ आविष्कार दिनेछ। आज कुनै सामान्य परिवारकी छोरी, जसले विद्यालयमा आत्मविश्वास सिकेकी छिन, भोलि समाजको नेतृत्व गर्नेछिन त्यसैले शिक्षा सुधार केवल नीति होइन—यो भविष्यप्रतिको हाम्रो प्रतिबद्धता हो। आज रोपिएको सीप र प्रविधिको बिरुवा भोलि समृद्ध राष्ट्रको विशाल वृक्ष बन्नेछ। र त्यो वृक्षको छायाँमा, हाम्रा सन्तानहरू गर्वका साथ भन्छन् “हामीले पाएको शिक्षा नै हाम्रो उज्यालो भविष्यको आधार थियो।”

Post a Comment

0 Comments