सुरेन्द्र श्रेष्ठ शिक्षक (नेपाल पुलिस स्कुल)
कक्षा ५मा म प्रथम भएर पुरस्कार पाउँदा निकै खुसी थिएँ । पढाइमा म पहिलेदेखि नै अब्बल थिएँ, पहिले पनि म हरेक वर्ष प्रथम नै भएर कक्षा चढ्दै आएको थिएँ र पुरस्कार पनि पाउँदै आएको थिएँ । पहिलेका समय खासै याद नभएको कारणले गर्दा कक्षा ५ देखिका उपलब्धिहरू विषेश लाग्दछ । त्यही बेला देखि मैले आमाबुवाको सपना र मेरो जिम्मेवारी बोध गरेको थिएँ । विद्यालयमा हरेक वर्ष हुने शैक्षिक र अन्य क्रियाकलापमा प्रथम या दोश्रो भएरआफू अब्बल हुनुको प्रमाण दिंदै आएको थिएँ । मेरो उपस्थितिले गर्दा स्कुलका शिक्षकहरू तथा प्रिन्सिपल सरले गर्व गर्नु हुन्थ्याे । साथीहरू पनि मसँगपढ्न र खेल्न मेरो वरिपरि झुम्मिन थाले । त्यसरी साथीहरूसँग लेखपढ गर्दा साथीहरूको पढाई राम्रो हुँदै थियो र ममा पनि पढाई प्रतिको आत्मवल झनझन बढ्दै थियो । सबैकाे प्रगति देखेर स्कुल मात्रै होइन छरछिमेक र टोलका सबैजना खुसी थिए । सबैका प्रिय पात्र भएको कारणले गर्दा म हौसिएको थिएँ । यसरी नै दिनचर्या चलिरहेको थियो ।
वर्षहरू वित्दै गर्दा साथीहरूको सङ्ख्या पनि बढ्दै थियो । विदाका दिनहरूमा साथीहरूसँग बाहिर भेट्ने, घुम्ने, खाजा खाने परम्परा बस्दै थियो । त्यतिसम्म त ठिकै थियो । एकदिन एउटा शनिवार एकजना साथीले सबैजना मिलेर चुरोट खाने मनसाय राख्यो । कति साथीहररूले हुँदैन भने, मैले पनि त्यस्तो काम गर्न नहुने भन्दै पन्छिएँ । २ / ४ जना साथीहरू हुन्छ भन्दै एउटा चुरोट मगाएर सल्काए र पालैपालो चुरोट तान्दै धुँवा उडाउन थाले । चुरोट किन्ने सल्लाह दिने साथीको पहिले देखि नै धुम्रपान गर्ने बानी रहेछ र उसले सहजै चुरोट तान्यो तर अरूको त पहिलो चोटी रहेछ त्यसैले गर्दा सबैले मुख रातो हुने गरी खोक्न थाले, आँखाबाट आँसु पनि झार्दै थिए । वरिपरिको वातावरण धुँवामय भएकोले गर्दा हामी चुरोट नतान्ने जति अलि परको चौतारीमा गएर कुऱ्यौँ ।
आजको यो घटनाको कारणले मलाई चिन्ता लाग्न थाल्यो कतै धुम्रपानले गर्दा साथीहरू विग्रिने हो कि अनि समूह पनि टुक्रिने हो कि ! केही क्षण पछि सबैजना आआफ्नो घर जान छुट्टियौँ । बेलुकाको खाना खाई सुत्न भनि आफ्नो कोठामा गएको, निदाउँनै सकिनँ । दिउँसोको घटना मात्र आँखामा आइरहन्थ्यो । त्यो रात कोल्टे फेर्दै वित्यो ।स्कुलमा हुँदा सबै साथीहरूको पढाई राम्रै थियो र व्यवहार पनि ठिकै । स्कुलभन्दा बाहिर जहाँ भेटे पनि चुरोट चाहिँ सल्काउनै पर्ने । पहिलो चोटी चुरोट तान्दा खोक्ने साथी अहिले भने सामान्य तरिकाले नखोकी तान्न सक्ने भइसकेका छन् । त्यस्ता साथीलाई देख्दा भने आफूले आफैलाई रोक्न सकिँन । म पनि एकपल्ट चुरोट तान्ने जमर्को गरेँ । पहिलो चोटी के तानेको मात्र थिएँ “एक सर्को, दुनियाँ अर्को” भने जस्तै भयो । चुरोटको धुँवा भित्र जाने वित्तिकै खोक्न सुरू गरेँ । खोक्दा खोक्दा फोक्सो नै बाहिर निस्केला जस्तो भयो । मुख रातो, आँखाबाट आँसु पनि आयो, म त अब मर्छु र बाहिरको दुनियाँमा पुग्छु
कि जस्तो पनि लाग्यो । साथीहरूले पानी खुवाईदिएर खुल्ला ठाउँमा राखेपछि अलि सजिलो भयो । आधि घण्टा जति आराम गरेपछि बल्ल सञ्चो महसुस भयो । त्यसपछि सबै जना खाजासाजा खाएर घर गयौँ । समय वित्दै गयो, साथीहरू विचको भेटघाटको क्रम सँगसँगै चुरोट तान्ने अनुभव पनि झन्झन् बढ्दै गयो । धुम्रपानमा फसिसकेको भए पनि अहिलेसम्म पढाई चाहिँ विग्रिसकेको थिएन । साथी सँगतले गर्दा आफ्नो आमाबुवाको सपना भने भुलिसकेको थिएँ । एकदिन एकजना छिमेकी दाईले मैले चुरोट तानेको कुरा घरमा सुनाई दिनुभयो । आमाबुवाले घरमा गाली गर्नु हुँदा मैले “होइन । अरूलाई नै देख्नुभयो होला । त्यसरी चुरोट तान्न थालेको भए मेरो पढाई विग्रिसकेको होला ।” भनेँ । विद्यालयमा पनि मेरो तारिफ हुने भएकोले गर्दा मेरो झुठ माथी सजिलै विश्वास गर्नुभयो । कक्षा १० पुग्दासम्म गाँजा पनि तान्ने भइसकेको थिएँ । SLC दिन तयारी गर्ने पुरै वर्ष र SLC पछिको २ महिनाको विदा चुरोट र गाँजा तान्न मै विताइ दिएँ, त्यसै कारणले स्कुलकै प्रथम मात्र हुन सकेँ । मेरा आमाबुवा र सर म्यामहरूले कमसेकम जिल्ला प्रथम हुन्छु भन्ने आशा राख्नु भएको थियो । तर विद्यालय प्रथम हुँदा पनि म खुसी नै थिएँ । म कुलतमा लागेको कुरो अहिलेसम्म घरमा थाहा नदिएको कुरामा झन् धेरै खुसी थिएँ । स्कुले जीवन सकिएर कलेज जीवन सुरू गर्न देशको राजधानी काठमाडौँ आएँ । कलेजको शिक्षा पश्चात म ठूलै मान्छे हुन्छु भन्ने कुरामा बुवाआमा ढुक्कै हुनुहुन्थ्यो तर मेरो प्राथमिकता चाहिँ आफू खुसी जीवन जिउने । काठमाडौँ आउनु मेरो लागि स्वतन्त्र जीवन पाउने मौका जस्तै भयो । कलेजको पहिलो दिन नयाँ माहोल, टन्नै नयाँ साथीहरू र आफू खुसी बाँच्न पाउने नयाँ वातावरण । पढन्ते साथी भन्दा पनि आफू जस्तै दुर्व्यसनमा फसेका साथीहरू माँझ नै मेरो सामिप्यता बढेको थियो । त्यहाँ बस्दा चुरोट र गाँजा मेरो दिनचर्या नै बनिसकेको थियो, त्यस माथी कलेज बाहिर लुकिछिपि अफिम, ब्राउन सुगर जस्ता ड्रग्स बेच्नेहरूको संगत पनि गर्न थालेँ । मलाई चाहिने लागु औषधीको जोह गर्न खासै गाह्रो भएन । आमाबुवाको सपना किन्न लिएर आएको पैसाले मादक पदार्थ र लागु औषधी किन्न मै खर्च गरेँ । एकदिनको कुरा, कलेज बाहिर बस्ने दलालबाट लागु औषध किन्न लेनदेन गर्दै गर्दा हामीलाई ७-८ जना प्रहरीहरूले घेरेर पक्राउ गरी भ्यानमा राखे । त्यो दिनदेखि मेरो जीवनको कालोदिन सुरू भयो । मलाई प्रमाण सहित पक्राउ गरेको हुनाले सजिलै छुट्ने असम्भव नै थियो । केरकारकै क्रममा प्रहरीद्वारा मेरा बुवाआमालाई पनि मेरो दुर्व्यसनका बारेमा थाहा भयो । म जेलभित्र कैद अवस्थामा बुवाआमालाई मेरो सामुन्ने पाउँदा आफुले आफैँलाई निकै असहज महसुस गर्दै थिएँ । गाली खानु स्वावाभिक नै थियो तर त्यो समयमा शिर उठाएर बुवाआमालाई हेर्ने साहस ममा थिएन । म दुर्व्यसनमा फसेकोले गर्दा चिन्तै चिन्ताका कारण बुवाले आफ्नो प्राण त्याग गर्नुभयो । लागु औषध बेच्ने त्यो केटालाई जन्म कैदको सजायँ भयो भने म दुर्व्यसनी मात्र भएको कारणले ५ महिनाको कैद पछि मुक्त भएँ । दुर्व्यसन र कैदमा परेको कारणले मेरो पढाई पुरै विग्रिसकेको थियो । बुबाको मृत्युपछि पनि ममा सद्बुद्धि पलाएन । पढाई बन्द भएको कारणले आमाले मलाई घरमै बोलाउनु भयो । घरमा पुगेपछि पुराना सबै साथीहरू मलाई भेट्न आए । पहिलो चोटी चुरोट तान्न सुझाव दिने साथी पनि आएको थियो । विगतका कुरा गर्दै गर्दा त्यो साथीको पनि मेरो जस्तै कहानी सुनायो । उसले चाहिँ जेलमा हुँदाका समयमा पूर्णस्थापनाका तालिम लिएर पूर्ण रूपमा दुर्व्यसन मुक्त भइसकेको थियो । लागु औषधका कारण मेरो स्वास्थ्य विग्रिदै गएको थियो । एकदिन खोक्दा खोक्दै रगतको वान्ता गरेँ । आमा आँत्तिनुभयो । साथीहरूको साथ लिएर मलाई अस्पताल पुऱ्याउनु भयो । म बाटो मै बेहाेस भएकोले गर्दा केके भयो थाहा भएन । ब्युँझिदा अस्पतालको खाटमा थिएँ । मेरो वरिपरि मेरी आमा, साथीहरू र केही आफन्तहरू थिए । त्यो साथी जसको कारणले गर्दा म कुलतमा फसेँ, उ अहिले पूर्णस्थापना केन्द्रको सहायताले दुर्व्यसनबाट मुक्त हुन सफल भएको छ । आज म यो अन्तिम अवस्थामा पुग्नुको मुख्य कारण ऊ आफैलाई ठानी मेरो हात समातेर माफी माग्दै छ । माफी ऊ माग्दै छ तर ग्लानी म महसुस गर्दैछु । विगतमा मलाई पनि उसले पूर्णस्थापना केन्द्रमा जान सुझाव दिएको थियो तर म त्यति बेलाको समयलाई नै आफ्नो सुखको र परम आनन्दको जीवन सम्झि उसैलाई गाली
गर्दै जान अस्विकार गरेको थिएँ । आज मेरो वरिपरि मेरालागि रूने भनेको मेरा साथीहरू र मेरी प्यारी आमा मात्रै हुन् । अरू आफन्तहरू र छिमेकोहरूको अनुहारमा कुनै दुःखको भाव देखिनँ । म जस्तो काम नलाग्ने दुर्व्यसनमा परेको मान्छेको कहिले इहलिला अन्त्य होला र घाटमा लगेर जलाई दिउँला भनि प्रतिक्षा गरेको भाव अनुहारमा प्रष्ट देखिन्थ्यो । कति साथीहरू रुँदै मलाई छोडेर नजान विन्ती गर्दै थिए । मैले छोडेर गइनँ भने उनीहरूले पनि कुलत छोड्ने बाचा गर्दै थियो । मलाई पनि यो रङ्गिन संसार छोड्ने मन कहाँ छ र ? तर निकै ढिलो भइसकेको थियो । म जाने निश्चित छ, त्यसैले मेरो समाप्ति पछि कुनै पनि हालतमा साथीहरूलाई कुलत छाड्न सुझाव दिँदै थिएँ । सुझाव के भन्नु आदेश दिएको थिएँ । डाक्टरहरूले पनि कुनै उपाय नरहेको भन्दै मेरो अन्त्यको निकतता घोषणा गरिसकेको रहेछ र म पनि मेरो अन्तिम समयको प्रतिक्षा गर्दैछु । के हुन थाल्यो मलाई ? मेरो आफ्नै शरीरको अङ्ग महसुस हुन छोड्यो । न मैले मेरो कलेजो भएको महसूस गरेँ न त मृगौला न मेरो पेटमा हुने हलचल नै । अघिसम्म मलाई साँस फेर्न गाऱ्हो भएको थियो तर अहिले साँस नफेरे पनि शरीरलाई एकदम सजिलो भएको अनुभव हुँदैछ । अब त आफ्नै शरीर पनि एकदम हलुका हुँदैछ । सायद मेरा सबै भित्री अङ्गहरूले काम गर्न छोडेछ त्यसैले यस्तो सहज महसुस गर्दैछु । कति मान्छे आफू अन्तिम अवस्थामा पुग्दा निकै पिडा सहेको हुन्थ्यो मलाई चाहिँ यो सहजता किन ? अहिले त मेरो धड्कनको चाल पनि कम हुन थाल्यो । अब यो नै मेरो अन्तिम पल हो ।
विगतमा सायद मैले दुर्व्यसन बाहेक कुनै पुण्य काम गरेको कारणले गर्दा होला यो सहज मृत्यु पाउँदैछु । मेरो वरिपरि भएका सबै आफन्त, छर छिमेकी, इष्ट मित्रहरू र प्यारी आमालाई विदाईको हात हल्लाउँदै गर्दाको दृष्य मधुरो र धमिलो हुँदै थियो, साथीभाईको रुवाइको ध्वनी पनि मधुरो हुँदै थियो । यो नै हो मेरो रङ्गिन जीवनको अन्तिम क्षण, अन्तिम दृष्य र अन्तिम ध्वनी …..
0 Comments