‘सधैँ– सधैँ मेरो सपनामा ’ कविताको संरचनात्मक विश्लेषण (पवित्रा दाहाल, नेपाली विभाग)

  

‘सधैँ– सधैँ मेरो सपनामा ’ कविताको संरचनात्मक विश्लेषण

 

 


 

                                                                                           


                                 

✍️  पवित्रा दाहाल

                                                                                                                    नेपाली विभाग

 

१.  विषय परिचय

मुस्ताङ जिल्लाको  थाक टुकुचेमा  जन्मिएका भूपी शेरचन ( १९९२–२०४६ ) का नयाँ झ्याउरे  (२०१०), निर्झर(२०१५) र घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कविता सङ्ग्रहहरू छन् । कवि शेरचन नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी तथा प्रगतिवादी कवि हुन् । उनका कवितामा व्यङ्ग्य तथा विद्रोहचेत पाइन्छ । उनी कवितामा सरल भाषाको प्रयोग रुचाउने कवि      हुन् । यिनका कविताहरू लोकलय, मात्रिक लय र मुक्त गद्यात्मक लयमा लेखिएका छन् ।

 ‘सधैँ– सधैँ मेरो सपनामा’ कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहमा सङ्गृहीत छ । यस कवितामा कविले              अन्याय ,अत्याचार सहेर स्वतन्त्र जीवन बाँच्न नपाएको र कविसँग स्वतन्त्र जीवनका लागि गुहार मागेको अभिव्यक्ति प्रस्तुत गरेका छन् । असाहय व्यक्तिले कविसँग सहयोगको अपेक्षा राखेका छन् । यस्ता भावको अभिप्राय नेपालमा कयौँ नेपालीहरूको स्वतन्त्र बाँच्न पाउने अधिकार नभएकाले व्याङ्ग्यात्मक ढङ्गबाट क्रान्ति उद्बोधको भाव व्यक्त गरिएको छ ।

‘सधैँ– सधैँ मेरो सपनामा’ कविता भावका दृष्टिले जति सुन्दर छ संरचनात्मक दृष्टिले पनि उत्तिकै सुन्दर छ । हरेक सिङ्गो वस्तु निर्माण हुन त्यसमा विभिन्न तत्वहरूको आवश्यकता पर्दछ त्यस्तै कविता बन्नका लागि पनि केही विशेष तत्वहरू आवश्यक हुन्छन् ; ती आवश्यक तत्व नै कविताका संरचक घटक हुन् । कविताका संरचक घटकहरू शिल्पसंरचना, विषयवस्तु वा मूलभाव, परिवेश ,       उद्देश्य , दृष्टिविन्दु, भाषाशैलीय विन्यास रहेका छन् । शोधपत्रमा कविताका यिनै संरचक घटकहरूका आधारमा भूपी शेरचनको ‘सधैँ– सधैँ मेरो सपनामा’   विश्लेषण गरिएको छ ।

 

२. सैद्घान्तिक पर्याधार

कविता साहित्यको एक प्रमुख विधा हो । यसले साहित्यको लयात्मक तथा आलङ्कारिक रचना विशेषलाई   बुझाउँछ । शब्द र अर्थको सहभाव नै साहित्य हो । अंग्रेजीमा साहित्यलाई Literature भनिन्छ । साहित्यले व्यापक अर्थमा सम्पूर्ण वाङ्मय र विशिष्ट अर्थमा सिर्जनात्मक लेखन ( कविता, कथा आदि) लाई बुझाउँछ । संस्कृत काव्यशास्त्रमा साहित्यलाई काव्य पनि भनिन्छ । लालीत्यपूर्ण, सुन्दर र कलात्मक भाषामा जीवनजगतका विविध अनुभूति र अनुभवको सुन्दरतम् अभिव्यक्ति नै साहित्य हो । प्राचीन कालमा साहित्य भन्नाले काव्य भन्ने बुझिन्थ्यो तर हाल साहित्यले भन्नाले कथा, कविता,निबन्ध जस्ता विधाहरूलाई नै बुझाउँछ । पश्चिमी साहित्यशास्त्रमा कवितालाई Portry भनिन्छ ।   portry शब्दको व्युत्पति  poet  शब्दबाट भएको हो ।  poet  शब्दले कवि अर्थात् कविताको रचना गर्ने व्यक्ति भन्ने अर्थ दिन्छ । poet  बाट निर्मित poetry   शब्दको अर्थ कविद्वारा सिर्जित पद्यात्मक रचना वा कवि कर्म भन्ने अर्थ दिन्छ । यसरी हेर्दा कविको रचना नै कविता हो ।  विशिष्ट भाषाको प्रयोग गरिएको लयात्मक तथा विशिष्ट संरचनायुक्त रचना नै कविता हो ।

            कवितालाई विभिन्न आधारमा वर्गीकरण गरिएको छ । पूर्वीय साहित्यले र पश्चिमी साहित्यले कवितालाई आ–आफ्नै ढङ्गबाट वर्गीकरण गरेका छन् । पूर्वीय साहित्यले मुक्तक, महाकाव्य,खण्डकाव्य र कोषकाव्य गरी कवितालाई चार प्रकारमा विभाजन गरेको   छ । पश्चिमी साहित्यले कवितालाई महाकाव्य, प्रगीत, छन्दमुक्त कविता भनेर तीन भागमा विभाजन गरेको छ । कविताको आधुनिक वर्गीकरण कविताको संरचनाका आधारमा गरिएको छ । संरचनाका आधारमा कविता तीन प्रकारका छन्  प्रगीतात्मक कविता, आख्यानात्मक कविता र नाटकीय  कविता । कविताको आधुनिक वर्गीकरण मध्ये यस अध्ययनमा प्रगीतात्मक कविताको विश्लेषण गरिएको छ । कविका अनुभूतिलाई व्यक्त गरिएका कविता नै प्रगीतात्मक कविता हुन् ।  स्वतन्त्र भाव , विचार र अनुभूति प्रगीतात्मक कवितामा पाइन्छन् । यस्ता कवितामा आख्यान हुँदैन ।

जसरी कुनै पनि वस्तुको आकार तयार हुन त्यसका विभिन्न अवयवहरूको आवश्यकता पर्दछ त्यस्तै कविता बन्न पनि निश्चित अवयवहरूको आवश्यकता पर्दछ । कवितालाई आकृति प्रदान गर्ने वा कविताको निर्माण गर्ने विभिन्न अवयवहरूलाई नै यसका संरचक घटकहरू (तत्त्वहरू, अङ्गहरू, अवयवहरू,उपकरणहरू) भनिन्छ (लुइटेल,२०६७ ,पृ.१५) । कविताको आकारगत पूर्णता दिन संरचक घटकहरूको आवश्यकता पर्दछ । यस्ता विभिन्न घटकको संयोजनबाट कविताको निश्चित आकार वा सिङ्गो रूप निर्माण हुन्छ । विश्वका जुनसुकै भाषाका कवितामा पनि संरचक तत्त्व हुन्छ । तर पूर्वीय साहित्य र पश्चिमी साहित्यमा कविताका तत्त्वहरू समान छैनन् । पूर्वीय साहित्यले

रस, ध्वनि, रीति, वक्रोक्ति, अलङ्कार आदिलाई काव्यतत्त्व मानेको छ । त्यसैगरी पश्चमी साहित्यले विषयवस्तु, भाषा,शैली, छन्द,लय,बिम्ब,प्रतीक आदिलाई कविताका तत्त्वका रुपमा लिएको छ । यी दुबै पक्षका आधारलाई लिएर यस अध्ययन पत्रमा विश्लेषण गरिने कविताका संरचनात्मक घटकहरू विचार वा भाव,शिल्प संरचना, परिवेश, उद्देश्य , दृष्टिबिन्दु ,भाषा शैलीय विन्यास रहेका       छन् ।

कविताको पहिलो संरचक घटक नै भाव वा विचार हो । कवितामा व्यक्त मूलभाव नै त्यस कविताको भाव वा विचार हो । विभिन्न विषय क्षेत्रका आधारमा भाव वा विचारको निर्माण हुन्छ त्यस भाव वा विचार कविताका माध्यमबाट व्यक्त हुन्छ । कवितामा भाव वा विचार विभिन्न परिस्थिति , विषय क्षेत्र, मानवीय स्वभाव आदिमा निर्भर रहन्छ । कविताको मुख्य विषयवस्तु नै भाव वा विचार हो । त्यसैले भाव वा विचार विना कविता पूर्ण हुन सक्दैन ।

कविताको अर्को मुख्य संरचक घटक परिवेश हो । कवितामा प्रस्तुत देश ,काल, वातावरण र पात्रका मानसिक तथा शारीरिक कार्यव्यापार हुने अवस्थालाई परिवेश भनिन्छ । कवितामा वर्णित विषयलाई विश्वसनीय बनाउँन परिवेश हुनु आवश्यक हुन्छ । परिवेशले कवितालाई जीवन्त बनाउँन समेत महत्त्पूर्ण भूमिका खेल्छ । त्यसैले परिवेश पनि कविता संरचनाको अर्को महत्त्वपूर्ण घटक हो । साहित्य सिर्जनाको मुख्य अभिप्राय नै उद्देश्य हो । कुनै पनि साहित्यिक कृति कुनै न कुनै प्रयोजनका लागि  लेखिन्छ । त्यस्तै कविताको पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रयोजन हुन्छ । कविता लेख्नुको प्रयोजन नै कविताको उद्देश्य हो । कविताको पूर्ण संरचना हुन उद्देश्य संरचक घटकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । विशेष गरी कविताको उद्देश्य रसानुभूति वा आनन्दानुभूति आदि रहेका छन् । वस्तु र सहभागिलाई जोड्ने काम दृष्टिविन्दुले गर्छ । वर्णनकर्ता वा समख्यातालाई दृष्टिविन्दु भनिन्छ । विचारधारा पनि दृष्टिविन्दुकै आधारमा नै आउँछ । कवितामा सहभागी र असहभागी गरी दुई किसिमका दृष्टिविन्दु छन् । सहभागी भनेको प्रथम पुरुष दृष्टिविन्दु हो ।  असहभागी भन्नाले तृतीय पुरुष दृष्टिविन्दुलाई बुझाउँछ । त्यसैले दृष्टिविन्दु नभई कविताले पूर्णता पाउन सक्दैन त्यसैले दृष्टिविन्दु पनि कविताको संरचक घटक हो ।

भाषाशैलीय विन्यास भन्नाले कविताको संरचना तयार हुँदा भाषाको प्रयोग के र कसरी भएको छ भन्ने कुरालाई बुझाउँछ । कवितामा शब्द चयन, विचलन,समानान्तरता,बिम्ब ,प्रतीक,लय,अलङ्कार आदिको प्रयोग नै भाषाशैलीय विन्यास हो । यी पनि कविताको संरचक घटक हुन् ।

यस लेखमा  माथि उल्लेखित कविताका संरचक घटकका आधारमा विश्लेषण गरिएको छ । 

 

३. ‘सधैँ– सधैँ मेरो सपनामा ’ कविताको विश्लेषण

 

भूपि शेरचनको  ‘सधैँ– सधैँ मेरो सपनामा ’ शीर्षकको प्रगीतात्मक संरचनायुक्त कवितालाई  शिल्पसंरचना , विषयवस्तु वा मूलभाव, परिवेश, उद्देश्य, दृष्टिविन्दु, भाषाशैलीय विन्यास आदि  संरचक घटकका आधारमा निम्नानुसार विश्लेषण   गरिएको छ ।

 

३.१ शिल्पसंरचना 

‘सधैँ– सधैँ मेरो सपनामा’ कविता  भूपि शेरचनको कवितायात्राको तृतीय चरणको कविता हो । यो कविता वि.सं.२०१६ साल साउन १४ गते शारदा पत्रिकामा प्रकाशित भएको थियो । गद्य ढाँचामा रचित यस कविता ५१ पङ्क्तिमा संरचित छ । कवितामा एउटा  

पङ्क्तिमा बढीमा आठ शब्द र घटीमा दुई शब्द प्रयोग भएका छन् । अन्य पङ्क्तिहरू तीन, चार , पाँच शब्दमा संरचित छन् ।  सिङ्गो कवितामा योजक,उद्घरण,विस्मय र पूर्णविराम जस्ता चिन्हको प्रयोग गरिएको छ । कविताको शीर्षकमा नै शब्दको पुनरुक्ति भएकाले शीर्षकमा नै योजक चिन्हको प्रयोग गरिएको छ । कवितामा देखाइ ,सधैँ शब्दको पुनरुक्ति भएको ठाउँमा योजक चिन्हको प्रयोग गरिएको छ ।

‘अब मेरो दूधको कुनै मूल्य छैन

अब मेरो मात्तृत्वको कुनै अर्थ छैन–’

भन्ने यी दुई पङ्क्तिलाई उद्घरण गरिएको छ । यस उद्घरण  चिन्हको प्रयोगले माथिका दुई पङ्क्तिलाई  विशिष्ट बनाइएको छ । यस चिन्हको प्रयोगले  मातृत्व र आमाको दूधको महत्त्व बुझ्न नसकेको केन्द्रीय कथ्यलाई प्राथमिकता दिएको छ ।

 अहा ! मेरो सपनामा मलाई

मेरो विपनाको इतिहासले घृणा गर्छ ।

भन्ने कविताका अन्तिम दुई पङ्क्तिमा प्रयोग भएको विस्मय चिन्हले घृणा र पूर्णविरामले कविताको टुङ्गोमा पुगेको अवस्थालाई देखाएको छ । 

त्यसैले‘सधैँ– सधैँ मेरो सपनामा ’ कविता पङ्क्तिविन्यास, चिन्हप्रयोग , शब्दहरूको वितरण आदिका आधारमा संगठित संरचनामा संरचित प्रगीतात्मक गद्य कविता हो ।

 

३.२. विचार वा मूलभाव

पराधीनताका कारण नेपाली समाजमा देखिएको दारुण अवस्थाको यथार्थ  र दास हुनुको पीडासँगै उक्त पराधीनताले निम्त्याएको समस्या समाधानका लागि अनुरोध गरिनु नै ‘सधैँ– सधैँ मेरो सपनामा ’ कविताको मूल विषयवस्तु हो । यस कवितामा नेपाली जनताले  हक , अधिकार र स्वतन्त्रताको अपेक्षा गर्दै कविसँग स्वतन्त्रताको भीख मागेका   छन् । नेपाली समाजको दारुण अवस्था सिर्जना हुनुमा स्वतन्त्रता नहुनु हो भन्ने आशय पनि यस कवितामा व्यक्त गरिएको छ । कवितामा  रोग, भोक र शोकले सिङ्गो समाजको अभावमय वातावरणलाई समेत प्रतिध्वनित गराएका छन्  । नेपालीहरू दमित भएर बस्नुपर्दा यस्ता अभाव सिर्जना भएको भाव पनि कवितामा व्यक्त भएको छ । कवितामा असंख्य जीवनद्वारा नपत्याइएको पदावलीको प्रयोगले  नेपाली समाज लामो समयदेखि अरूद्वारा दमित भएको र सहज रुपमा जीवन बिताउन नपाएको कुरा प्रस्तुत गरिएको छ ।

 

 आमाहरूले हराएका छोराहरू माग्छन्, वृद्धहरूले पनि हराएका पुत्र माग्छन् , विधुवा महिलाले आफूले गुमाएको सहारा माग्छन् , टुहुरा बालबालिकाले पिताको माया र सुरक्षा माग्छन् । यी सबैको आशय एक कर्मठ सहारा दिने र अभाव पूर्ति गर्ने व्यक्तिको अपेक्षा गर्नु नै हो  । कवितामा कसैका छोरा, कसैका पति , कसैका बाबु अर्थात् समग्रमा परिवर्तनकारी

हरेक साधारण व्यक्तिले आफ्नो सपना पूरा गर्ने आशा लिएर कविको सहारा खोजेका छन् । शान्ति , सुरक्षा र स्वतन्त्रताको लागि हरेक व्यक्तिले कविसँग पुकार गरिरहेका छन् ।

 यदि क्रान्ति गरेर भए पनि नेपालको सामाजिक अवस्था सुधार्नुपर्छ नत्र सपना केवल सपना मात्र हुनेछ , विपनाको इतिहासले घृणा गर्ने छ भन्दै कविले कवितामा आत्मालोचना गरेका छन् । यसरी परिवर्तन गर्ने क्षमतावान् व्यक्तिको आवश्यकता भएको भाव पनि कवितामा व्यक्त गरिएको छ ।  सपना डुब्न दिनु हुँदैन ; साकार पार्नुपर्छ भन्ने भाव समेत यस कवितामा व्यक्त गरिएको छ । 

 

३.३ परिवेश , उद्देश्य र दृष्टिबिन्दु

 कवितामा परिवेशसूचक काल तथा स्थान नतोकिए पनि यो कवितामा प्रस्तुत विषयवस्तुको आधारमा हेर्दा कवितामा राणाकालीन समयको संकेत पाइन्छ । कविताको विषयवस्तुका आधारमा कवितामा अभावमूलक सामाजिक  वातावरणलाई प्रस्तुत गरिएको छ । निराशाजनक वातावरण भएतापनि समाज परिवर्तनका लागि सबैले कविलाई पुकार गर्नुले र कविले सपनालाई डुब्न दिनुहुन्न भन्दै आफ्नो लक्ष्यप्रति सचेत भएका कारण कवितामा आशावादी पक्ष समेत सबल रहेको छ । अधीनता र हस्तक्षेपका कारण समाजका हरेक व्यक्तिका सपनामाथि अंकुश लगाइएको यथार्थलाई प्रकट गर्नु नै यस कविताको मूख्य उद्देश्य हो । प्रथम पुरुष र तृतीय पुरुष दृष्टिविन्दुमा संरचित यो कविता सामाजिक परिवर्तका लागि सपना देख्नुका साथै पूरा गर्नुपर्छ भन्ने आशावादी विचार व्यक्त भएको  एक सुन्दर कविता हो ।

 

३.४. भाषाशैलीय विन्यास

भूपि शेरचनद्वारा रचित ‘सधैँ– सधैँ मेरो सपनामा’ कवितामा सरल तथा बोधगम्य भाषाशैलीको प्रयोग गरिएको पाइन्छ । यो कवितामा क्लिष्ट तथा दुर्बोध्य शब्दहरूको प्रयोग भएको पाइँदैन । यो कविता मुक्त छन्दमा संरचित गद्यकविता हो । यस कवितामा  विचलनयुक्त भाषाशैलीको प्रयोग भएतापनि कवितामा अर्थयुक्त र सार्थक रुपमा प्रयोग भएको देखिन्छ । अनुप्रास, शब्दहरूको वितरण, वर्णको आवृत्ति, शब्दको आवृत्तिका कारण कविता लयात्मक बन्न पुगेको छ ।

एक लास माथि उठ्छ

एक लास माथि डुब्छ ।

जस्ता वाक्यको समानान्तरताको प्रयोगले कवितामा सुन्दर भाषाशैलीको प्रयोगमा सहयोग पुर्याएको छ ।  असंख्य –असंख्य , सधैँ– सधैँ ; मेरो मातृत्व, आफ्नो अतिसय, युवती, विधुवा जस्ता  शब्द तथा वर्णका तहमा भएका समानान्तरताको प्रयोगले पनि कवितामा सुन्दर भाषाशैलीको प्रयोग भएको देखिन्छ ।

 

४.  निष्कर्ष

भूपि शेरचनको  ‘सधैँ– सधैँ मेरो सपनामा’ कवितामा नेपाली समाजमा लामो समयदेखि अरुको अधीनमा रहेर आफ्ना सपना पूरा गर्न नसकेको अवस्थालाई व्यक्त गरिएको छ । कवितामा हरेक उमेर, हरेक लिङ्गअनुसार व्यक्तिहरूका छुट्छुट्टै सपना वा चाहना भएको र उक्त चाहना पूरा गर्नका लागि कवि अर्थात् सचेत व्यक्तिलाई  उनीहरूले आग्रह गरेको भाव व्यक्त गरिएको छ । कविताका माध्यमबाट कविले देखेको सपना केवल सपना मात्रै नभएर नेपाली समाज परिवर्तन गरी नेपाली समाजको आवश्यकता पूरा गर्न देखिएको लक्ष्य हो । वर्णात्मक शैलीमा संरचित यो कविता गद्य कविता हो । विभिन्न चिन्हको प्रयोग, विचलन तथा समानान्तरताका कारण कवितामा प्रयोग भएको भाषाशैली विशिष्ट छ । अधीनताको प्रतिरोध गर्दै सपना साकार पार्न एकजुट हुने प्रेरणा दिनु नै कविताको उद्देश्य हो । प्रथम पुरुषीय र तृतीय पुरुषीय दृष्टिबिन्दुमा यो कविता संरचित छ ।यस कवितामा स्थान र समय तोकेर नदेखाए पनि कविताको विषयवस्तुको अध्ययनबाट राणाकालीन समयमा कविता रचना गरेको पाइन्छ ।

 

सन्दर्भसामग्री

लुइटेल, खग्रेन्द्र, नेपाली काव्य समालोचना, काठमाडौँ  पैरवी प्रकाशन, २०६७

शेरचन, भूपि, घुम्ने मेचमाथि अन्धो मान्छे , काठमाडौँ  साझा प्रकाशन, २०२७

Post a Comment

0 Comments