कास् ! यही बच्चा…… (ईश्वर के. सी., अंग्रेजी विभाग)

  

कास् ! यही बच्चा……


 

 



 

                                                                                             

                                                                                                                        ✍️   ईश्वर के. सी.

                                                                                                                 अंग्रेजी विभाग

"मेरो देश" शीर्षकमा एउटा निबन्ध लेख भन्दै  बिद्यार्थीहरुलाई गर्वका साथ देश चिनाउदैँ  थिएँ।ठूलो ठूलो आवाजमा कराउदै थिएँ " म नेपाली हुँ! नेपाली हुन पाएकोमा गर्व गर्द्छु। किनभने नेपालमा जन्मिन नपाएर धुरुधुरु रोएका थुप्रै खैरे दाजुभाइलाई फकाउने अवसर जुन  पाएको छु।" मेरो नेपाल.............

 

 मेरो आवाजलाई रोक्दै एकजना विद्यार्थी  जुरुक्क उठ्यो अनि भन्यो," सर अरु topic दिनु न, देशको बारेमा त के लेख्नु, के छ र  लेख्नु ?  बरु अमेरिका, क्यानडा , जापान ,बेलायत , दुबईको बारेमा लेख्न दिनु न।मलाई सब थाहा छ तिनीहरुको बारेमा , मैले google गरेको छु।। पछि म उतैको नागरिक बन्ने त हो। किन लेख्नु देश? किन देख्नु देश??

 

उसको कुरा सुनेर कस्तो नराम्रो लाग्यो। धेरै बेर सोचेँ अनि भाबुक हुँदै उसलाई सम्झाएँ, हेर बाबु  ! देशको सानो...सानो कुरा थाहा पाउन जरुरी छ। देश भनेको आमा हुन् ।यसरी आमालाई हेला नगर। ल! भन त, हाम्रो देशमा जनसंख्या कति छ? उसले मेरो  प्रश्न  भुइँमा खस्न  नपाउदै मुख खोल्यो" हाम्रो देशमा सिर्फ तीन जनता छन् !"  "तीन जनाको पनि देश हुन्छ??" म कराएँ। उसले गम्भिर हुँदै भन्यो , हाम्रो देश छ त सर!!! मैले फेरि सोधेँ , "को हुन् त ती जनताहरु?" उसले मुसुमुसु हाँस्दै जवाफ दियो," देउबा, के.पि बा अनि प्रचण्ड !" म ट्वाँ परेँ। मैले फेरि उसलाई एउटा प्रश्नको झापड हिर्काएँ , तिमी को हौ त यो देशको??  उसले निरास हुँदै भन्यो, "यसको जवाफ म आफै खोजिरहेको छु सर!! हजुर भनिदिनु न, म को हुँ, हजुर को हो यो देशको?" साँच्चै! " म"को हुँ त यो देशको ? म सोँच्न थालेँ। उसको प्रश्नले मलाई आफ्नै पहिचान खोज्न बाध्य बनायो।

 

सर! नयाँ नेपाल नयाँ नेपाल भनेको सुन्छु। देश पनि कहिले नयाँ ,कहिले पुरानो हुन्छ र? हजुरले त दुईटै नेपाल देख्नु भयो है सर? नयाँ नेपाल त म पनि बाँच्दै छु !  पुरानो नेपालमा पहिले राजा थिए रे है ? देशमा त्यतिखेर जनता थिए रे हो ?  उसले सुस्केरा हाल्दै भन्यो, अहिले त सबै जनता नेता भएछन् है सर  ! देश त दुई भागमा बिभाजित भएछ नि ! नेता अनि कार्यकर्ता  ! हजुर नेता कि कार्यकर्ता सर ? उसको प्रश्नले म नराम्रोसंग  घाइते भएँ । उसले फेरि सोध्यो, सर ! राजा हुँदा देश कस्तो थियो  ? मैले आँखाभरि आँसु जमाउदै जवाफ दिएँ, "बाबु ! देश ! देश जस्तै थियो  !"

 

उसको गहिरो सोचमा म डुब्न बाध्य भएँ  ! सानो दिमाग, कति ठूलो सोच ! उससंग  धेरै कुरा सिक्न मन लाग्यो । मैले उसलाई फेरि सोधेँ , बाबु ! देश बदल्न के गर्नु पर्ला  ? उसले मलाई पढाउदै भन्यो," सर ! देश किन बदल्नु पर्यो ! पृथ्वीनारायण शाहले बनाएर हाम्रो हातमा सुम्पेको होइन र ? बाँदरको हातमा नरिवलको गट्टा भयो है हाम्रो देश ? कठै ! बिचरा मेरो देश ! बाँदरले ऐना हेर्दा आफैलाई देख्ला कि हामी नेपाली जनतालाई सर ? सिर्फ जनता बदलिन जरुरी छ। जनता बदलिएपछि नेता त्यसै बद्लिन्छ्न् अनि देश , देश भैहाल्छ नि सर! !" उसको कुरा सुने पछि  मैले आफैलाई एउटा प्रश्न  गरे, म उसको शिक्षक कि विद्यार्थी  ?

 

म जवाफ आफैभित्र खोज्दै थिएँ, उसले फेरि अर्को प्रश्नको झटारो हान्यो ।" सर ! सुन्नुहोस न ! हाम्रो assembly ground अघि एउटा राष्ट्रिय झन्डा झुकेको धेरै भय । त्यो झण्डाको सूर्य र चन्द्र कहिले  उदाएको देखिनँ । सर भन्नू न त्यो सुर्य र चन्द्र् कहिले उदाउछ ? "  मिल्ने भए उसको सोचलाई नेपालको  राजनीति बनाउथेँ । कहाँसम्म पुगेको उसको सोच । कास् ! यही  बच्चा हाम्रो देशको  प्रधानमन्त्री भएको भए  ! निकैबेर आँखा चिम्लेर भोलिको नेपाल नियालेँ । म चाहन्न उसको सोचले पछि खाडीको हवाइजहाज चढोस् ! मैले उसको टाउको सुम्सुमाउदै भनेँ, बाबु ! एकदिन अवस्य उदाउछ हाम्रो झण्डाको चन्द्र र सूर्य  ! तर कहिले ? उसको प्रश्नमा आबेग थियो। उसलाई सान्त्वना दिदै भनेँ " जुन दिन राजधानीको बगरमा गुँरास फुल्छ, जुन दिन राजधानीको सगरमा डाँफे डुल्छ ! हो ! त्यही दिन हाम्रो झण्डाको चन्द्र र सूर्य उदाउछ।"

 

 ऊ खित्का छोडेर हाँस्यो। सायद उसले मेरो कुरा पत्याएन।आफ्नो प्रश्नको जवाफ आफै दिँदै भन्यो, जुन दिन भेडा जनता  मान्छे       बन्छन् , जुन दिन कार्यकर्ता जनता बन्छन् , अनि जुन दिन जनताले छान्छन् आफ्नो प्रधानमन्त्री , हो ! त्यही दिन हाम्रो झण्डाको चन्द्र र सूर्य उदाउछ  ! सर  ! त्यो समयसम्म देश रहला कि नरहला ? उसको प्रश्नमा नेपाल थियो, नेपालप्रतिको माया थियो। हो ! ठिक त्यही बेला मलाई हाम्रो राष्ट्रकवि माधबप्रसाद घिमिरेज्यू   भएको एउटा गीत  याद आयो,जसको शब्द शब्दमा राष्ट्रप्रेम छ, नेपाल छ !

 

"नेपाली हामी रहौँला कहाँ नेपालै नरहे,

उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

Post a Comment

0 Comments