अबदेखि तपाईँ हामी यसरी सोच्ने गरौँ।
✍️लक्ष्मण खनाल
सामाजिक विभाग
संसारमा राम्रो र नराम्रो केही छैन, विचारले नै कुनै वस्तुलाई राम्रो वा नराम्रो बनाउँछ। – शेक्सपियर
विचार दुई प्रकारका हुन्छन् । एउटा विचारले तपाईँको शरीर, तपाईँको आत्मा र तपाईँको मन पुष्ट हुन्छ, त्यस्तै अर्को विचारले तपाईँको शरीर, तपाईँको आत्मा मर्छ अनि निर्बल र हीन हुन पुग्छ। पहिलो प्रकारको विचारलाई हामी रक्षक भन्न सक्छौँ, जबकि दोस्रो प्रकारको विचारलाई भक्षक ।
❖ हामी गरिब भएर केही गर्न सक्दैनौँ भनेर नसोचौँ, बरु हामीले केही राम्रो काम गर्न नसकेर गरिब भयौँ भन्ने सोचौँ। वास्तवमा गरिबी हाम्रो समस्या होइन, निष्क्रियता हाम्रो समस्या हो भन्ने विचार मनमा ल्याऔँ।
❖ हामी अबदेखि नयाँ कुरा सिक्न, नयाँ कुरा गर्न, जीवन बदल्न चाहँदा पनि फुर्सद छैन नभनौँ। नयाँ कुरा जान्ने र जीवन बदल्ने इच्छा भए फुर्सद त्यसै निस्कन्छ। फुर्सद निकाल्न नसक्नु समस्या होइन, बहाना बनाउने प्रवृत्ति हाम्रो समस्या हो भन्ने सोचौँ।
❖ हामी अरूले काम गर्न नदिएर अगाडि बढ्न सकिनँ भन्ने नसोचौँ, बरु अरूलाई काम गर्ने वातावरण मिलाउन नसकेको र अरूलाई सम्मान गर्न नजानेको कारण आफैँ अगाडि बढ्न नसकेको कुरा बुझौँ। समस्या अरूमा होइन, आफ्नै कमजोरीलाई हेरौँ।
❖ हामी आफ्ना सन्तान गतिला नभएकाले आफू निराश, चिन्तित भएको भन्ने नसोचौँ, बरु हामीले निराश, डर र चिन्तात्मक संस्कार रोपेका कारण सन्तान गतिला नभएका हुन् भन्ने सोचौँ। अगतिला सन्तानले समस्या जन्माएका होइनन्, हाम्रै कारणले सन्तान अगतिला भएका हुन् भन्ने बुझौँ।
❖ हामी छोराछोरीले पढेनन्, अटेरी र बदमास भए भनेर पिट्नु, गाली गर्नु भन्ने नसोचौँ, बरु ती बदमास, नपढ्ने, अटेरी बनाउने वातावरण हामी आफैँले सिर्जना गरेका हौँ भन्ने बुझौँ। समस्या बालबालिकामा होइन, हामी आफैँ हौँ भन्ने ठानौँ।
❖ धेरै टि.भी. कार्टुन हेरेर बालबालिका बिग्रिए भन्ने ठान्नु हुँदैन, बरु हामीले आफ्नै स्वार्थका लागि बालबालिकालाई सँगै राखेर टि.भी. हेर्दा उनीहरूको भविष्य बिग्रियो भन्ने ठानौँ।
0 Comments